प्रकाशित : १० मंसिर २०७७, बुधबार १७:३३


विराटनगर, १० मंसिर । नेपालबाट भारततिर इन्धन (पेट्रोलियम पदार्थ)को तस्करी गर्ने तीन जनालाई प्रहरीले विराटनगर ११ बाट पक्राउ गरेको छ । कोरोना संक्रमणका कारण दुवै देशबीच आवतजावत बन्द गर्दै सीमा सिल गरिएको छ ।
सीमा सिल भएको अवस्थामा पनि इन्धनको तस्करी गर्ने सुनसरीको हरिनगर–६ का २५ वर्षीय सत्रुधन साह, ३० वर्षीय अजाम खान र ५० वर्षीय अकवल मियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्लाष्टिकको ग्यालेनमा भरेर तीनवटा मोटरसाइकलमा भारततिर डिजेल लैजाँदै गरेको अवस्थामा उनीहरुलाई बिहान ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
नेपालमा भन्दा भारतमा प्रति लिटर २० देखि ३० रुपैयाँसम्म डिजेल महँगो छ । त्यही मौका छोपेर पेट्रोलियम पदार्थ (इन्धन)को तस्करी गर्नेहरु पछिल्लो समय सलबलाएको हुनसक्ने उहाँले बताउनुभयो । पक्राउ परेकाहरुले मोटरसाइकलमा राखेर भारततिर लैजाँदै गरेको चार सय ३० लिटर डिजेल बरामद गरिएको एसपी खड्काले बताउनुभयो ।