प्रकाशित : २० आश्विन २०७७, मंगलवार १८:५७

विराटनगर, २० असोज । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड भएकोे अर्थात् अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न गत असोज १९ गते संघीय सरकार, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच त्रिपक्षीय सम्झौता भयो । सम्झौताअनुसार ५० प्रतिशत लगानी संघीय सरकारको, ४० प्रतिशत प्रदेशको र बाँकी १० प्रतिशत महानगरको हुनेछ । कामको थालनी तत्कालै गर्ने योजना छ । विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय हुने सन्देशले प्रदेशबासी मात्र होइन देश र विदेशबासीहरु समेत खुशी नहुने कुरा भएन ।
कसरी यो दिनको उचाइमा काम आइपुग्यो र कसरी काम सम्पन्न हुने विषयको अन्तरवस्तु यस्तो छ :
विभागीय अर्थात् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतको मनमा मन्त्री बन्नुपूर्व नै यो कुरा उठेको थियो र उहाँले मन्त्रीको पद तथा गोपनियताको सपथ खाएपछि सपना मात्र होइन योजनाको रुपमा यो अघि बढ्यो । मन्त्री कुसियैत भन्नुहुन्छ– ‘पूर्वक्षेत्र वा हाम्रो प्रदेशमा पर्यटन उद्योगका लागि चाहिने सबै वस्तु छन् । किनकि पर्यटकीय गन्तव्यहरु– धार्मिक,साँस्कृतिक,वातावरणीय,हिमाल,प्रकृति र उत्साह बोकेका अनि संगठित भएका व्यवसायी सबै छन् । यी पर्यटनका अवयवलाई कसरी समन्वय र संयोजन गर्ने इच्छा शक्तिको मात्र खाँचो थियो । मन्त्रीले यी सबैको संयोजन गर्ने एउटा कसीको रुपमा विराटनगर विमानस्थल हुन्छ भन्ने अठोट राख्नुभएको थियो । सोहीअनुसार संघीय मन्त्रालयको भावना र महानगरको साथ पनि आउँदा आज यो सफल भएको छ ।

२०७५ साल असार १६ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग यस विषयमा मन्त्री कुसियैतले गहिरिएर कुरा गरेपछि प्रमको उत्साहप्रदायक सहयोगात्मक आदेश÷सहमति आयो । योजना त बनाउने तर कसरी सम्पन्न गर्ने ? यसले पिरोल्यो र अन्तमा उल्लिखित दामासायी सहमति पनि बन्यो– तीन तहका बीच । त्यसपछि प्रदेश सरकारको अधिकांश बैठकहरुमा यस विषयमा कुरा भइरहँदा विमानस्थलको स्तरोन्नतिको लागि प्रदेश सरकार पनि अघि बढ्यो र पहिलो ठूलो कामस्वरुप गत वर्ष साढे चार बिघा जग्गा अधिग्रहण गरियो । सो क्रममा विवाद पनि नआएका होइनन्, सुल्झाइयो । विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरियो । मन्त्रीले अगाडि भन्नुभयो–‘पहिलाको १५ सय मिटरको धावनमार्गलाई २४ सय मिटरको बनाइयो । विमानस्थलको आवश्यकता,महत्व र व्यस्तता बढाउनका लागि प्रदेश १ का १४ मध्ये सके धेरै नभए पनि चालू अवस्थामा रहेका पाँच वटा विमानस्थलमा विराटनगरबाट नियमित उडान गराउने योजना लागू पनि गरियो ।’ तर सो नियमित हुन सकेन पछिल्ला कोभिडलगायतका परिस्थितिले ।
अब काम सक्न छिटो र सजिलो भने अवश्य छैन । ‘विमानस्थलको धावनमार्ग तीन हजार मिटरको बनाउनु छ ।

त्यसका लागि अरु एक सय ५५ विघा जग्गा अधिग्रहण गर्नुछ’ –मन्त्री कुसियैतले भन्नुभयो–‘ ११ अर्ब रुपैयाँ जुटाउनु पनि छ ।’ अब, विमानस्थलको उत्तर र दक्षिणतर्फ केही विस्तार हुन्छ भने धावनमार्गका लागि पश्चिमतर्फ विस्तार गरिने छ ।

विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनिने कुराले प्रदेश १ त्यसमा पनि विराटनगरका मानिसहरु प्रफुल्ल बनेका छन् यद्यपि यो आजको भोलि नै चाहिँ हुने छैन । ‘योजना २० वर्षको हो तर त्यसको सात वर्ष अगाडि नै सक्ने गरी काम सुरु गर्दैछौँ ’– मन्त्री कुसियैतले बताउनुभयो । ‘सुरुका दुई वर्षभित्रमा आवश्यक जमिनको सीमा निर्धारण र जग्गाधनीलाई मुआब्जा वितरणको काम सकिने छ । मुआब्जा प्राप्तिमा सम्बन्धित जग्गावालाले अपनाउने चलाख्याइँका बारेमा पनि हामी सचेत भएर काम गरिरहेका छौँ’– उहाँको भनाइ छ ।
विमानस्थलको स्तरोन्तिमा निजी क्षेत्रको,पर्यटन व्यवसायीका संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको र रहनेमा दुई मत रहेन । साथै व्यवसायी धेरै उत्साहित समेत देखिएका छन् । ‘विमानस्थल बनाएर मात्र हुन्न उडान भर्ने भनेका अधिकांश निजी कम्पनीका जहाजले नै हो, सरकारको होटल छैन, गाँसबास व्यवस्था गर्ने निजी क्षेत्रले नै हो । त्यसैले हामीलाई पनि उत्साह थपिएको छ ’– एक पर्यटन व्यवसायीले बताउनुभयो ।

यसैवीच विराटनगर महानगर कमिटीले विराटनगर विमानस्थल विस्तारका लागि तीन तहका सरकारवीच भएको सम्झौताको स्वागत गरेको छ । महानगरकमिटी अध्यक्ष सागर थापा र सचिव हेम कार्कीले आज विज्ञप्ती निकाल्दै स्वागत गर्नु भएको हो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३