प्रकाशित : ६ आश्विन २०७७, मंगलवार १८:१०

विराटनगर, ६ असोज । सुनसरीको रामधुनीकी एक किशोरीलाई बली दिन भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन् ।

सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजेको प्रहरीले जनाएको छ ।

हिजो साँझ ७ बजेतिर किशोरीलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ । घटनाका मुख्य योजनाकार सुमित रहेको र प्रदीप उनका सहयोगीको भूमिका देखिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो । झुम्का बसाईकै क्रममा चिनजान भएकी किशोरीलाई सुमितले सिकाएर अनुसार ललाईफकाई मनिकाले विराटनगर ल्याएको खुलेको छ । फेसबुकको चिनजानका आधारमा सुमितले किशोरीलाई विराटनगर ल्याउन मनिकालाई प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । एउटा पूजामा लैजाने र पूजामा गए वापत पाँच हजार रुपैयाँ दक्षिणा पनि पाइनेभन्दै मनिकाले आइतबार बिहान ७ बजेतिर किशोरीलाई फकाएर विराटनगर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विराटनगर ल्याएपछि उनीहरुले जोगवनी हुँदै गाडीमा राखेर फारविसगञ्ज लैजान खोजेको देखिएको छ । त्यस क्रममा त्रसित बनेकी किशोरी गाडीबाट हामफालेर भागेको पाइएको साना हातहरु नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार संस्थाले उद्धार गरेपछि किशोरीले मनिकाले नचिनेका दुई व्यक्तिसँग आफूलाई भारत पुर्याएको र भागेर नेपाल आउन सफल भएको बताएकी छन् । प्रहरीका अनुसार सुमितका भिनाजु रन्द्धीर मण्डल भारतको सहर्षा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत पुर्याउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपैयाँको ‘डिल’ भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार किशोरी लगिदिए वापत १२ लाख रुपैयाँ भिनाजु र उनका भाईले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो । किशोरीले बाटोमा लैजाने क्रममा फित्ता लगाएर आफ्नो उचाई पनि नाप्ने काम भएको बताइकी छन् । ‘पूजामा बस्न ५.२ फिट उचाई भएकी केटी चाहिन्छभन्दै उचाई नापेका थिए,’ उनले भनिन्, ‘रजस्वला भए÷नभएको बारेमा पनि सोधिखोजी गरे ।’ विवाह गरेको र महिनावारी भएका बेला पूजामा बस्न नहुनेभन्दै उनीहरुले रजस्वलाका बारेमा आफूसँग सोधिखोजी गरेको किशोरीले प्रहरीलाई बताएकी छन् । उनले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्नेभन्दै सिकाएको पनि बताएकी छन् ।

१२ लाख रुपैयाँमा ‘डिल’ भएको घटना सार्वजनिक भएपछि प्रहरीले बली दिन बालिकालाई लगिएको हुन सक्ने आशंका गरेको छ । प्रहरीका एक अधिकारीले यति धेरै रकमको ‘डिल’ भएको घटनाको प्रकृति हेर्दा र यसमा संलग्नहरुले दिएको जानकारीको अध्ययन गर्दा किशोरीलाई बली दिन भारत लगिएको हुन सक्ने बताउनुभयो । एसपी खड्काले पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३