प्रकाशित : ३ आश्विन २०७७, शनिबार १३:३०


विराटनगर, ३ असोज । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समृद्ध राष्ट्र निर्माणमा जुटिरहन सबैमा आग्रह गर्नु भएको छ ।
संविधान दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले कानुनी राज्यको अवधारणा, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणमा जुटिरहन आह्वान गर्नु भएको हो । उहाँले ठूलो त्याग, बलिदान र संघर्षको उपलब्धीका रुपमा प्राप्त संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषयमा समर्पित भए लाग्न पनि सबैलाई आग्रह गर्नु भएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हितका आधारभूत विषयलाई ख्याल राखी जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, बालअधिकार, अपांगता भएका व्यक्तिहरुका अधिकार, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकामा ‘प्यासी’को जोड छ ।
समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने धेय संविधानको रहेको उहाँले स्मरण गराउनु भएको छ । संविधानको जगमा उभिएर एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नु पर्नेमा ‘प्यासी’ले जोड दिनु भएको छ ।
देशमा राजनीतिक स्थिरता, दीगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार विरुद्ध शून्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा मात्र संविधानको मर्म र भावना सार्थक हुने उहाँले उल्लेख गर्नु भएको छ । संविधान ‘मेरो, हाम्रो र हामी सबैको संविधान बनिरहोस्’ ‘प्यासी’द्धारा सन्देशमा भनिएको छ ।