प्रकाशित : १७ भाद्र २०७७, बुधबार १८:५१

विराटनगर, १७ भदौ । विराटनगरका व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गिरोहमा आवद्ध रहेकालाई हतियारसहित मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित पाँच जना रहेका छन् ।

भारत बिहार सितामडी घर भई विराटनगर महानगरपालिका–८ मा डेरा बस्दै आएका २७ वर्षीय राजु साह, मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरीको बोदेवसाइन नगरपालिका–८ घर भई विराटनगर–३ मा डेरा बस्ने २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह पक्राउ परेका हुन् ।

विराटनगरको जलजला चौकस्थित चाइना बजारमा कपडा बेच्ने काम गर्दै आएका भारतीय नागरिक राजुलाई विराटनगर–८ कै रेन्बो गल्लीबाट पक्राउ गरिएको हो । त्यस्तै किसनलाई विराटनगर–८ देवकोटा चौक, रविनलाई आफै घर, नन्दकिशोर र अभिषेकलाई कञ्चनबारीस्थित नन्दकिशोरको डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले संगठित रुपमा अपराधिक समूह स्थापना गरेर हतियार देखाउँदै ज्यान मार्ने धम्की दिएर व्यापारीसँग पैसा असुल्ने गरेको पाइएपछि पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । एसपी खड्काले गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको बताउनु भयो । प्रहरीले एलेक्स भनिने रविनको घरबाट एउटा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद गरेको छ । प्रहरीले धम्की खेपेका र गिरोहलाई रकम बुझाउन बाध्य भएका व्यापारीको पहिचान भने गोप्य राखेको छ ।

पक्राउ पर्नेमध्ये नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ । जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ रहेको एसपी खड्काले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका पाँच जना र उनीहरुबाट बरामद गरिएको हतियार, नगद लगायतका सामान आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३