प्रकाशित : २१ श्रावण २०७७, बुधबार १८:५२


विराटनगर, २० साउन । कोरोना संक्रमणबाट मोरंगमा २ जनाको मृत्यु भएको छ । विराटनगर ९ र रंगेली ८ का पुरुषको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ ।
कोशी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको हो । ज्वरोका साथै जण्डिसको समस्या देखिएपछि उनलाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो । रंगेलीका पुरुषको गएराती अस्पताल आईनपुग्दै बाटैमा मृत्यु भएको मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले बताउनुभयो ।
मृत्यु पछि दुवै जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको मेसु डा. दासले बताउनुभयो । रंगेली ८ भएका ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएपछि कोशी अस्पताल ल्याईएको थियो ।
मोरंगमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर र सुनबर्षीका १–१ पुरुषको मृत्यु भएको थियो ।