प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १९:२५

विराटनगर, ८ साउन । कोरोना संक्रमित चिकित्सक भेटिएको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल आज दिउँसो सिल गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल पूर्ण रुपमा सिल गरेको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अर्को सूचना नभएसम्म यो कायम रहने जानकारी दिनुभयो । अस्पतालबाट गत मंगलबार संकलन गरिएको स्वाबको नतिजा पोजेटिभ आएकाले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाउनु पर्ने कार्कीले बताउनुभयो । सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ । अस्पतालले नयाँ बिरामी भर्ना लिन पाउने छैन ।

अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहने महाशाखा प्रमुख कार्कीको भनाइ छ । उपचाररत बिरामी, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षागार्ड र उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परीक्षणकालागि स्वाब संकलनको प्रक्रिया अघि बढाउन आवश्यक विवरण टिपोट गरिसकिएको जानकारी उहाँले बताउनुभयो । मंगलबारराति अस्पतालकै आन्तरिक व्यवस्थापनसँग जोडिएका ६५ वर्षीय चिकित्सकलाई कोरोना पुष्टि भए पनि उनी सम्पर्कबिहीन बनेका थिए । उनको खोजीमा ठूलो मेहनत गरेका प्रहरी र महानगरका कर्मचारीले धेरै सास्ती बेहोर्नु पर्ने अवस्था आयो । उनी विहिबार महानगरको सम्पर्कमा पुगेपछि संक्रमित अस्पतालकै बरिष्ठ चिकित्सक भएको पत्ता लागेको थियो ।

अस्पतालले स्वाब संकलन गर्ने क्रममा उनले हरिबहादुर कार्की र उमेर ५० वर्ष र ठेगाना विराटनगर भनि गलत विवरण टिपाएका थिए । उनले आफ्नो मोबाइल नम्बरसमेत गलत टिपाएको पाइएको छ । उनले टिपाएको सम्पर्क नम्बर धनकुटामा कार्यरत एक प्रहरीको रहेको पुष्टि भयो । नाम, उमेर, ठेगाना, सम्पर्क नम्बर सबै गलत टिपाएर चिकित्सकले आफ्नो स्वाब परीक्षणकालागि पठाएको खुलेको हो । सबै कुरा अस्पष्ट हुँदा र पूरै ठेगाना प्राप्त नहुँदा कोरोना पोजेटिभ देखिएपछि सम्पर्कबिहीन भएका उनलाई खोज्ने क्रममा धेरै ठूलो तनाव बेहोर्नु परेको महानगरको भनाइ छ ।

संक्रमितको सवाललाई लिएर लापरबाही र असहयोग गरेको अभियोग लगाउँदै अस्पतालविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत कारबाही अघि बढाउन सकिने महानगरले बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३