प्रकाशित : १४ असार २०७७, आईतवार १८:२९


विराटनगर, १४ असार । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, उदयपुर ६, झापामा २, इलाम र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको छ ।
मोरङको सुनवर्षीमा १६ पुरुष, एक महिला, उदयपुरको कटारीमा ३ महिला, २ पुरुष, झापाको हल्दिबारीमा २ महिला, सुनसरीको इनरुवामा १ पुरुष र इलामको माईमा १ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ५ सय ६० पुगेको छ । प्रदेश १ मा आज झापाको कचनकवलका १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३ सय ७७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैबीच कोशी अस्पताल विराटनगरमा एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
विराटनगार स्थित कोशी अस्पतालको आइसोलेशन वार्डमा एक हप्ता अगाडी देखी भर्नाभएका सुनसरीको इनरुवाका ३२ वर्षीय युवामा पोजेटिभ देखिएको हो । अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनलाई राखिएको आइसोलेशन वार्डलाई ७२ घण्टा सम्म सिल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनुभयो ।
उहाँले आइसोलेशन वार्डलाई सिल गरी वार्डमा काम गरेका डाक्टर नर्स र कर्मचारीहरुको तत्काल स्वाव परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने बताउनुभयो । पोजेटिभ देखिएका विरामी १५ दिन अगाडी पाकिस्तानबाट नेपाल आएका थिए ।