प्रकाशित : ७ असार २०७७, आईतवार १८:४३


विराटनगर, ७ असार । मोरङ प्रहरीले चोरी, तस्करी, गुण्डागर्दी र विभिन्न अपराधिक घटना नियन्त्रणका लागि चलाएको स्वीप अप्रेशन निक्कै प्रभावकारी देखिएको छ ।
एक वर्षको अवधिमा तीन हजार दुई सय ८८ जनालाई नियन्त्रणमा लिएर स्क्रिनिङ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । उहाँकाअनुसार एक वर्षको अवधिमा चोरी, तस्करी र गुण्डागर्दीबाट हुने घटनामा कमि आएकाले स्वीप अप्रेशनलाई निक्कै प्रभावकारी मानिएको छ ।
एसपी अधिकारीले आफ्नो कार्यकालमा प्रतिबन्धित विप्लव समूहका मेची–कोसी ब्युरो संयोजक, सचिव, जनपरिषद् प्रमुखसहित २१ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको जानकारी दिनु भयो ।
उहाँकाअनुसार एक वर्षको अवधिमा पाँचवटा अटोम्याटिक पेस्तोल, पाँचवटा कटुवा पेस्तोल, आठवटा भरुवा बन्दुक गरेर १८ वटा हतियार र छ वटा म्यागजिन तथा २६ राउण्ड गोली बरामद गरिएको छ ।
हाल मोरङबाट सरुवा हुनु भएका एसपी अधिकारी भोलि काठमाडौं जाँदै हुनु हुन्छ । उहाँको ठाउँमा एसपी सन्तोश खड्का मोरङ प्रहरी प्रमुख बनेर आउनु भएको छ ।