प्रकाशित : ६ असार २०७७, शनिबार २२:१०

विराटनगर ६ असार । मोरङ प्रहरीको नेत्रृत्व १३ महिना सम्हालेका एसपी विश्व अधिकारी अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल दरिएका छन् ।

अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापना गराउने तथा द्धन्द्ध व्यवस्थापनको सवालमा उनको भूमिका निक्कै महत्वपूर्ण रहयो । उनी आर्थिकदेखि लिएर कुनै पनि विवादमा मुछिएनन् । समाजमा भएका विभिन्न अपराधिक घटनालाई सफल अनुसन्धान गर्दै टुँगोमा पुर्याएका अधिकारीको मोरङबाट भने सरुवा भएको छ । विवादरहित रुपमा कार्यकाल सफल बनाएका उनको ठाउँमा एसपी सन्तोश खड्का मोरङ प्रहरी प्रमुख बनेर आएका छन् । सुरक्षा मामिलाका जानकारहरु अधिकारीको बाटो समातेर अघि बढ्ने हो भने खड्का पनि सफल हुने बताउँछन् ।

तल्लो तहको प्रहरीलाई धेरै माया गर्ने उनले गलत काम गर्ने प्रहरीलाई भने कारबाहीको दायरामा ल्याए । राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत र गलत गर्नेलाई दण्ड सजायको नीति लिएर अघि बढेका अधिकारीको कार्यकालमा फिल्डमा खटिने प्रहरीले सधैं उच्च मनोबलका साथ काम गर्ने अवसर पाए । प्रहरी संगठन भित्र सबैलाई समान व्यवहार गर्ने उनले मोरङमा रहँदा भूमिका नागरिक—प्रहरी सम्बन्ध सुधारमा धेरै समय खर्चिए । शून्य सहनशीलताले जनमानसमा विश्वास बढ्ने र सिंगो प्रहरी संगठन सफल हुने उनी बताउँछन् ।

नागरिकसँग सम्बन्ध प्रगाढ बनाउन सक्नु प्रहरीको सबै भन्दा ठूलो सम्पत्ति हुने र प्रहरी सधैं सफल हुने उनको भनाइ छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन पालना गराउने सवालमा उनको भूमिका महत्वपूर्ण रहयो । एसपी अधिकारीले प्रहरीसँगै काम गरेर लकडाउन पालनामा सहयोग गर्ने गरी ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान चलाउँदै एकीकृत गरेर कोरोना विरुद्धको अभियानमा युवाहरुलाई एकजुट बनाएर लैजान सके ।

बौद्धिक प्रहरी अधिकृत भनेर चिनिने अधिकारी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँनयाँ अभियानको सिर्जना गर्ने क्षमता राख्छन् । मोरङबाट विदाई भएर जान लागेका एसपी अधिकारीले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना कार्यकालमा भएका महत्वपूर्ण उपलब्धी र कामहरुको जानकारी दिए । उनले अनुसन्धान जारी रहेका घटना र अनुसन्धान टुँगिएका विभिन्न अपराधका फेहरिस्त प्रस्तुत गरे ।

आर्थिक वर्ष २०७६÷०७७ को हालसम्म आघिल्लो आर्थिक वर्षको तुलनामा मोरङमा एक वर्षको अवधिमा समग्र अपराधिक घटनामा १६ प्रतिशले कमि आएको तथ्याँकले देखाएको छ । गत आर्थिक वर्षमा एक हजार छ सय ९४ वटा मुद्धा दर्ता गरेको मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म एक हजार चार सय १७ वटा मुद्धा दर्ता गरेको छ । मोरङमा अपराधिक घटना कम हुनुले पनि एसपी विश्व अधिकारी अपराध नियन्त्रणमा अब्बल छन् भन्ने कुराको पुष्टि हुने एक प्रहरी अधिकारीले बताए ।

चालु आर्थिक वर्षमा मोरङमा अभद्र व्यवहारमा चार सय ४० मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको हालसम्म छ सय ५५ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्ष एक सय तीनवटा चोरी सम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले यस वर्षको हालसम्म ८४ वटा मुद्दा दर्ता गरेको छ । यस वर्ष बलात्कारका ९७ र बलात्कार प्रयासका ४४ घटना भए । अघिल्लो आर्थिक वर्षमा बलात्कारका ९७ वटा र बलात्कार प्रयासका ५४ वटा घटना भएका थिए ।

अघिल्लो आर्थिक वर्षमा एक सय ८९ जनाले आत्महत्या गरेकोमा यस वर्ष दुई सय १३ जना पुगेको छ । लागुऔषध सम्बन्धी एक सय ६५ मुद्दा अघिल्लो वर्ष चलाएको प्रहरीले यस वर्ष एक सय ७३ मुद्दा चलाएको छ । अघिल्लो वर्ष १६ वटा हत्याका घटना भएकोमा यस वर्ष १७ वटा भएका छन् । ठगीका ११ वटा घटना भएकोमा यस वर्ष बढेर १९ पुगेको छ ।

यस वर्षको हालसम्म विभिन्न अपराधिक घटनामा संलग्न एक हजार दुई सय ५९ पुरुष र ९१ जना महिलालाई पक्राउ गरेर मुद्दा चलाइएको जानकारी अधिकारीले दिए । उनले प्रहरी सक्रियता, विभिन्न अभियान, नागरिक–प्रहरी सम्बन्ध सुधारका लागि गरिएका सचेतनामुलक एवं नागरिक मैत्री कार्यक्रमका कारण अपराधिक घटनामा कमि आएको जानकारी दिए ।

नागरिक–प्रहरी सम्बन्ध सुधारकै कारण समाजमा भएका अपराधिक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता पनि मिलेको उनको भनाइ छ । गत माघ १० गते सम्झना खत्रीको हत्या गर्ने उनकै प्रेमी सुरेन्द्र साह पक्राउ, आफ्नै बुवासँग अपहरणको नाटक गरी फिरौती लिने मुकेशकुमार महतो पक्राउ लगायतमा प्रहरीलाई सफलता मिलेको थियो । त्यस्तै प्रेमीसँग मिलेर माघ ६ गते श्रीमानको हत्या गर्ने दयावती सरदार र उनकै प्रेमी बद्री सरदार एवं हत्यामा संलग्न विकाश सरदारलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको विषयलाई पनि प्रहरीले आफ्नो ठूलो उपलब्धीका रुपमा लिएको छ ।

त्यस्तै यही जेठ ३ गते विराटनगर महानगरपालिका–१४ झटियाईका दाजुभाई २९ वर्षीय रोहित र २६ वर्षीय नागेन्द्र चौहान मिलेर आफ्नै बुवा ५५ वर्षीया सीताराम भनिने सत्यराम चौहानको हत्या गर्दै शव घर भित्र खाल्डो खनेर गाडेको घटनाको अनुसन्धान टुँगो लगाएर प्रहरीले ठूलो सफलता हात पारेको थियो । एसपी अधिकारीकै नेत्रृत्वमा प्रहरीले विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या प्रकरणको अनुसन्धान पनि टुँगो लगाएको छ । पत्नी मीना श्रेष्ठ दुलालले प्रेमी ब्रह्मदेव साहसँग मिलेर दुलालको हत्या गरेको खुलेको थियो ।

विभिन्न जघन्य अपराधलाई अनुसन्धान गरी टुँगोमा पुर्याउन सफल भएकै कारण एसपी अधिकारीलाई अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छ ।

उनकै नेत्रृत्वमा रहेको मोरङ प्रहरी प्रहरीले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइए पनि फरार रहेका प्रतिवादी पक्राउमा पनि एक वर्षको अवधिमा ठूलो सफलता हात पारेको छ । एसपी अधिकारीले मुलुकका अन्य जिल्लामा भन्दा मोरङमा धेरै प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिए । उनकाअनुसार मुलुकभर हालसम्म दुई सय २३ प्रतिवादी पक्राउ परेका छन् । मोरङमा मात्रै चार सय ४९ जना पक्राउ परेको उनको भनाइ छ । अधिकारीकाअनुसार ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा मोरङको पक्राउ संख्या २२ दशमलव १९५ हो ।

फरार प्रतिवादीलाई पक्राउ गरेर एक सय १२ वर्ष दुई महिना १६ दिन कैद र ४१ लाख ७८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गरिएको अधिकारीले बताए । उनले चोरी, तस्करी, गुण्डागर्दी र विभिन्न अपराधिक घटना नियन्त्रणका लागि मोरङमा स्वीप अप्रेशन चलाए । स्वीप अप्रेशनका क्रममा तीन सय दुई सय ८८ जनालाई नियन्त्रणमा लिएर स्क्रिनिङ गरिएको उनको भनाइ छ ।

प्रहरीले एक वर्ष अवधिमा जिल्ला भरीबाट २० हजार तीन सय ९५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । त्यस्तै मदिरा बनाउन प्रयोग गर्ने १४ हजार एक सय ५० लिटर कच्चा पदार्थ र पाँच सय ३० बोतल नक्कली रक्सी बरामद गरेको छ ।

एसपी अधिकारीकै नेत्रृत्वमा मोरङ प्रहरीले आफ्नो कार्यकालमा प्रतिबन्धित विप्लव समूहका मेची–कोसी ब्युरो संयोजक, सचिव, जनपरिषद् प्रमुखसहित २१ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन सक्यो । एक वर्षको अवधिमा पाँचवटा अटोम्याटिक पेस्तोल, पाँचवटा कटुवा पेस्तोल, आठवटा भरुवा बन्दुक गरेर १८ वटा हतियार र छ वटा म्यागजिन तथा २६ राउण्ड गोली बरामद गर्नु मोरङ प्रहरीको ठूलो उपलब्धी हो ।

मोरङमा वर्ष दिनभरीमा लागुऔषध विरुद्धका तीन सय नौवटा कार्यक्रम सञ्चालन गरिएको छ । प्राय सबै जसो कार्यक्रममा एसपी अधिकारी आफै उपस्थित भएर लागुऔषध विरुद्धको अभियानमा होमिन सबैलाई आह्वान गर्थे । मोरङबाट चोरी भएका मध्ये एक सय ८३ वटा मोबाइल, ७५ वटा मोटरसाइकल र १५ वटा साइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी अधिकारीले दिए । शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा अब्बल रहेको भन्दै अधिकारी नेत्रृत्वको मोरङ प्रहरीलाई विभिन्न संघ संस्थाले सम्मान पनि गरेका छन् ।

१५ हजार दुई सय ६८ जनामा गरिएको सर्भेक्षणमा प्रहरीको सेवा प्रवाह ५१ प्रतिशतले अत्यन्तै प्रभावकारी, ३८ प्रतिशतले प्रभावकारी र ११ प्रतिशतले सन्तोष जनक रहेको प्रतिक्रिया जनाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३