प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार २१:४०


विराटनगर ३० जेठ । विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया सञ्जु शाहमाथि जेठ २९ गते भएको कुटपिट घटनामा निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न अधिकारकर्मीहरूले माग गरेका छन् ।
विराटनगर महानगरपालिका–११ मा निर्माणाधिन सडक तथा नालाको विषयलाई वरपरडेक संस्थाकी अध्यक्ष तथा अधिकारकर्मी सञ्जु शाहमाथि कुटपिट खेदजनक भएको भन्दै अधिकारकर्मीले जेठ ३० गते विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
भौतिक निर्माणको विषयमा भएको विवादमा आपसी छलफल नगरी एक जना महिलामाथि सामूहिक कुटपिट भएकाले निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको मानव अधिकार रक्षक परिषद् विराटनगर अध्यक्ष सोमराज थापाले बताउनुभयो ।
आज मानव अधिकार सञ्जाल अध्यक्ष डिकप्रसाद घिमिरे,मानव अधिकार रक्षक परिषद् अध्यक्ष सोमराज थापा र गैर सरकारी संस्था महासङ्घ प्रदेश १ उपाध्यक्ष सीता शर्माद्वारा संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा कुटपिटको विषय निन्दनीय भएको भन्दै निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
यसैबीच विराटनगर महानगरपालिका–११ र १२ का स्थानीय वासिन्दाले जेठ ३० गते विराटनगरमा पत्रकार सम्मेलन गरी सञ्जु शाहमाथि कोही कसैले कुटपिट नगरेको जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा धरणीमार्ग निर्माण उपभोक्ता समितिको उपाध्यक्ष सञ्जु शाह रहेकोमा सञ्जु शाहले कोही कसैलाई जानकारी नदिई उपभोक्ता समितिको अध्यक्ष आफू रहेको किर्ते माइन्युट गरी मनोमानि गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै स्थानीयले सञ्जु शाहले आफू अधिकारर्मी र अधिवक्ता भएको भन्दै धम्क्याएर जेठ २९ गते जेसिबि चलाएको र सो क्रममा विवाद भने बढेको जानकारी दिएका छन् ।