प्रकाशित : २९ जेष्ठ २०७७, बिहीबार ०६:२८

विराटनगर, २९ जेठ । मोरङमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकाहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि दिन थालिएको छ ।

आयुर्वेद विभागले जारी गरेको प्रोटोकलअनुसार संक्रमितलाई चार प्रकारका औषधि प्रदान गर्न थालिएको हो । प्रदेश १ सरकारले औषधि वितरणका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. रवीन्द्र निरौला र केन्द्रका बरिष्ठ कविराज निरीक्षक रवीन्द्र मेहतालाई खटाएको छ । पहिलो चरणमा सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टरमा उपचाररत रहेका ५९ जनालाई औषधि दिइसकिएको कविराज निरीक्षक मेहताको भनाइ छ । उहाँकाअनुसार संक्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, यष्ठिमधु चूर्ण र जडिबुटी चिया नामक औषधि दिइएको हो ।

सबै औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असर कम गर्दै लैजाने जानकारी मेहताले दिनु भयो । उहाँकाअनुसार यी सबै औषधि दैनिक पाँच/पाँच ग्राम दुई पटकसम्म प्रयोग गर्नु पर्छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पनि औषधि वितरणको तयारी भइरहेको उहाँले बताउनु भयो ।

संक्रमित बाहेक कोरोना विरुद्ध अग्रभागमा उभिने र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि यी औषधि वितरणको तयारी भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । मेहताकाअनुसार भारतका धेरै ठाउँमा आयुर्वेदिक औषधि सफल भएपछि नेपालमा पनि प्रयोग गर्न थालिएको हो । ‘आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीर भित्र असर गर्ने कोरोना भाइरस बाहेक विभिन्न किसिमका सुक्ष्म जीवाणुलाई मार्छ,’ उहाँले भन्नु भयो, ‘तर अहिलेसम्म कोरोना भाइरसलाई भने नष्ट गरेको पुष्टि भइसकेको छैन ।’ मेहताले आयुर्वेदिक औषधि नियमित सेवन गर्नाले कुनै असर नगर्ने र बाहिरी भाइरसले भने शरीरमा आक्रमण गर्न नसक्ने उल्लेख गर्नु भयो ।

शरीरमा कुनै भाइरस प्रवेश गरेर आक्रमण गर्न थालेको भएमा त्यस्ता भाइरसलाई कमजोर बनाएर लैजाने र मार्ने काम गर्ने भएकाले औषधिको प्रभाव पनि राम्रै रहेको उहाँको भनाइ छ । त्यस्तै क्वारेन्टाइनमा राखिएका कारोना भाइरसका संकास्पदहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने किसिमका आयुर्वेदिक औषधि र जडिबुटी दिन थालिएको छ ।

मेहताकाअनुसार पहिलो चरणमा रतुवामाईको इटहरामा ७९, सौंठामा ७९, कल्याणपुरमा २२ जना र पथरीशनिश्चरेमा ४८ जनालाई औषधि तथा जडिबुटी दिइएको छ । गुर्जो लहरा नामक जडिबुटी र यष्ठिमधु चूर्ण नामक औषधि दिइएको हो । लहरा पानीमा पकाएर चियाका रुपमा दिनको दुई पटक प्रयोग गर्न सकिने आयुर्वेद चिकित्सकले बताएका छन् । क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक क्षमता बढाउन योग सम्बन्धी नमुनात्मक क्रियाकलाप (डेमोस्ट्रेसन) समेत सिकाउने गरिएको जानकारी मेहताले दिनु भयो ।

मोरङमा दुई ठाउँमा कोरोना संक्रमितको उपचार भइरहेको छ । आज बिहानसम्ममा पूर्वाञ्चल विश्वविद्यालयमा ८१ पुरुष र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २१ पुरुष र ७ महिला गरेर २८ जना संक्रमितको उपचार भइरहेको हो । ४९ पुरुष र ८ महिला गरेर ५७ जना संक्रमित कोसीबाट उपचारपछि निको भएर विदा भइसकेका छन् ।

मोरङमा रहेका ७१ वटा क्वारेन्टाइनमा आज बिहानसम्ममा १ हजार १ सय ५३ पुरुष र १ सय ३६ महिला गरेर १ हजार २ सय ८९ जना रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३