प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार १९:०४


विराटनगर, २१ जेठ । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम जेठ २३ गते पेस गरिने भएको छ । प्रदेशसभामा शुक्रबार दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनुभयो ।
बैठकले विपद, खोज, उद्धार तथा राहत वितरणसम्बन्धी मापदण्ड २०७६ संशोधन गर्ने र प्रादेशिक सञ्चार प्रतिष्ठान गठन सञ्चालन नियमावली २०७७ लाई स्वीकृति दिने निर्णय गरेको कार्कीले बताउनुभयो । प्रदेश सरकारको सार्वजनिक खरिद नियमावलीलाई २०७७ संशोधन गर्ने निर्णय पनि भएको छ ।
यसैगरी सामाजिक विकास मन्त्रालय अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयन सम्बन्धमा पेस गरेको कार्यविधिलाई बैठकले स्वीकृति प्रदान गरेको छ ।