प्रकाशित : २० जेष्ठ २०७७, मंगलवार १९:२४

रामचन्द्र वाग्ले

हालसम्म विश्वभरिमा ३५१ प्रजातिका कछुवाहरू पत्ता लागिसकेका छन् । यिनीहरूलाई खबटाको आधारमा कडा खबटा र नरम खबटा गरी दुई प्रकारमा बाँडिएको छ ।

प्रत्येक कछुवामा दुई प्रकारको खोल हुन्छ । माथिको खोललाई कारापेस र तलको खोललाई प्लास्ट्रोन भनिन्छ । यिनीहरुको उत्पत्तिको कुरा गर्दा यिनीहरु डाइनोसरको उत्पत्ति हुनुभन्दा अगाडि नै उत्पत्ति भएको विश्वास गरिन्छ ।

कछुवा धेरै वर्षसम्म बाच्न सक्ने जीवमा पर्दछन् । यिनीहरुको आयु प्रजातिअनुसार फरक–फरक हुने भएपनि केही कछुवाहरु जस्तैः विशाल अलडाबरा कछुवा (Aldabrachelys gigantea) २५० वर्षसम्म पनि बाँचेको पाइएको छ ।

वैज्ञानिकहरुका अनुसार सबैभन्दा ठुलो कछुवा मेगालोचेलिस एटलस हो जुन लोप भइसकेको छ जसको लम्बाई करिब अढाईदेखि २.७ मिटर र वजन करिब दुई हजारदेखि चार हजार किलोग्रामसम्म थियो ।
नेपालको सन्दर्भमा १८ प्रजातिका कछुवाहरु पाइने अनुमान गरिएको छ । ती १८ प्रजातिका कछुवाहरुमध्ये दुई प्रजातिका कछुवाहरु जमिनमा बस्छन् भने बाँकी १६ प्रजातिका कछुवाहरु पानीमा बस्छन् । प्रायजसो कछुवामा भाले पोथी पहिचान गर्ने सबैभन्दा सजिलो तरिका भनेको यिनीहरुको पुच्छर र पछाडिका खुट्टाको नङ हो । प्रायः भालेको पुच्छर लामो र पछाडिका खुट्टाको नङ सानो हुन्छ ।

पोथीेको पुच्छर भालेको भन्दा छोटो र पछाडिका खुट्टाको नङ भालेको भन्दा लामो हुन्छ । पोथीेले जमिनमा खाल्डो खनेर फुल पार्नु पर्ने भएकाले पोथीेको पछाडिको खुट्टाको नङ लामो भएको हो । समागमको र प्रजनन्को समय प्रजाति अनुसार फरकफरक हुने भएतापनि प्रायः वर्षातको मौसम (असार, साउन) उपयुक्त हुने गरेको पाइएको छ ।

जुनसुकै ठाउँमा बस्ने कछुवा भएपनि फुल भने जमिनमा नै पार्छन् । नेपालमा पाइने प्रायः कछुवाहरु सर्वभक्षी छन् । यिनीहरुले सुकेका, मरेका र कुहिएका वस्तुहरु खाने भएकाले वातावरण सफा, सुन्दर र स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्दछन् ।
कछुवाहरु ज्यादै लजालु स्वभावका हुुन्छन् । यिनीहरु चिसो रगत भएका प्राणी भएकाले प्रायः कछुवाहरु जाडो मौसममा शरीरको तापक्रम सन्तुलित राख्न झरेका पातमुनि, जमिनमा गाडिएर बस्दछन् । केही कछुवाहरु जाडो मौसम भए पनि घाम लागेको समयमा घाम तापेर बस्छन् ।
कछुवाको अर्को सबैभन्दा रोचक कुरा भनेको यसको सन्ततिको लिङ्ग निर्धारण हो । यो अन्य विभिन्न जीवहरु जस्तो भाले पोथी बन्न क्रोमोजोममा भर पर्दैन् । अण्डाबाट भाले पोथी बन्न यो वातावरणको ताक्रममा भर पर्दछ ।

तापक्रम औसतभन्दा बढी भएमा पोथी सन्ततिहरु धेरै र औसतभन्दा कम तापक्रम भएमा भाले सन्ततिहरु धेरै उत्पन्न हुन्छन् । अन्य समयमा सामान्य रहने भए पनि प्रजनन् गर्ने समयमा भालेहरु आक्रामक हुने गर्छन् । यस्तो समयमा भाले–भाले बीचको आक्रामक लडाईँ देख्न सकिन्छ । यस क्रममा धेरै घाइते हुने गरेको पाइन्छ ।

कछुवा यो प्रकृतिको अति नै पुरानो र हालसम्म सफलतामा अघि बढ्दै आएको भए पनि अब यसको अस्तित्व निकै संकटमा पुगिसकेको छ । यो जीव लोप हुनु भनेको करोडौँ वर्षअघिदेखिको इतिहास लोप हुनु मात्र होइन वर्तमानमा यस पृथ्वीमा रहेका अरु जीवहरुमाथि पनि प्रश्न चिन्ह खडा हुनु हो । तसर्थ विश्व संसारका कुनाकाप्चाबाट यसको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ । यसको संरक्षण गर्नुपर्ने दायित्व हामी सबैको हो ।  (लेखक कछुवाको विषयमा स्नातकोत्तरमा शोधकार्य गर्दै हुनुहुन्छ । )

इमेल [email protected]

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३