प्रकाशित : १८ जेष्ठ २०७७, आईतवार १९:०८


विराटनगर, १८ जेठ । विराटनगरस्थित बालसुधार गृहमा कैद सजाय भोगिरहेका एक युवको आज बिहान मृत्यु भएको छ ।
ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ का १७ वर्षीय विनम सावाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । राईकाअनुसार विनम कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका युवक हुन् । उनी केही समयदेखि मृगौलाको समस्याबाट पीडित रहेको पाइएको डीएसपी राईले बताउनु भयो ।
झाडापखाला हुनुका साथै वान्ता भएपछि उनलाई हिजो विराटनगरको नोबेल मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि विनमको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जानकारी चिकित्सकले गराएको राईको भनाइ छ । बालसुधार गृहमा उनी २०७६ पुस २६ गतेबाट कैद सजाय भुक्तान गरिरहेका थिए ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत ताप्लेजुङले उनी विरुद्ध १६ वर्ष कैद सजायको फैसला गरेको थियो ।