प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार १३:५१


विराटनगर, १७ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशन पछि सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना गरेको छ ।
झापाको कचनकवलका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्त्री घिमिरे आज विहान अस्पताल पुग्नु भएको थियो । अस्पताल पुगेर उहाँले संक्रमितलाई तत्काल भर्ना गर्न निर्देशन दिनुभएको थियो । कचनकवलबाट राती धरान आईपुगेका २७ जना संक्रमित रातभर अस्पताल बाहिरै बसेका थिए ।
संक्रमितलाई भर्ना गरिएपछि प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक लगायतसँग मन्त्री घिमिरेले भर्ना नगर्नुको कारण र कमजोरीको पहिचान गर्न निर्देशन दिनुभएको छ । आगामी दिनमा कमजोरी नदोहोरिने वातावरण मिलाउन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘ घटना पुन दोहोरिए कारवाही गरिने छ ।’ मन्त्री घिमिरेले विपीमा ३ सय वेडको तयारी गर्न भन्नुभएको छ ।
उपकुलपति डा.गिरीले वीपीको कोभिड उपचार केन्द्रमा १ सय ५० वेड तयारी अवस्थामा रहेको बताएकै कारण कचनकवलबाट २७ संक्रमित पठाईएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश १ मा १ सय ५८ संक्रमित मध्ये ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३४ जना र धरानमा ९४ जना उपचाररत रहेका छन् ।