प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार १९:०४

विराटनगर, १६ जेठ । प्रदेश नं.१ प्रदेश सभाको आज बसेको बैठकमा ‘ विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सहितको पूर्व बजेट छलफल’ सकिएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ११८ बमोजिम सो सो प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार सदनमा पेश गर्नुभएको छ ।

सात सिद्धान्त र ४६ वटा प्राथमिकतालाई समेटर तयार गरिएको सो प्रस्तावको छलफलमा प्रदेश सभा सदस्यहरु अम्बिका थापा,उमीता विक, कागजीमान कागते,खिनु लाम्बा लिम्बु, जयराम यादव, झलकसिंह दर्लामी, टङ्क आङवुहाङ लिम्बु, तुलसीप्रसाद न्यौपाने, नवोदिताकुमारी चौधरी, नारायणबहादुर मगर,प्रतापप्रकाश हाङ्गाम, विष्णु तुम्बाहाम्फे, वशन्त बानियाँ,लीला सुब्बा, विमल कार्की, शान्ता पौडेल र सूयर्माराज राईले सरकारले आमनागरिकले महशुस गर्ने किसिमको बजेट ल्याउन सुझाव दिनुभयो ।

उहाँहरुले विश्वमा फैलिरहेको कोरोना भाइरसबाट आम नागरिकलाई सुरक्षित बनाउन स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट राख्नुपर्ने, शिक्षा, कृषि र रोजगार सिर्जना गर्न सक्ने क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने, किसानलाई सर्वसुलभ तरिकाले मल, बीउको उपलब्धता हुनु पर्ने, साना र मझौला उद्योगलाई सरकारले विशेष ध्यान दिनुपर्ने र विदेशबाट आउन चाह्ने युवायुवतीलाई कृषि क्षेत्रमा समाहित गर्न योजना ल्याउनु पर्ने जस्ता विषयमा चर्चा गर्नुभएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले सरकारले तयार गर्ने नीति तथा कार्यक्रम एवं बजेट निर्माणमा सल्लाह र सुझावलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले सबै सांसदहरुको सल्लाह र सुझाव बजेटमा प्रतिविम्वित हुने जानकारी दिँदै कोरोनाको महामारीले सामाजिक र आर्थिक क्षेत्रमा परेको सङ्कटलाई ध्यानमा राखेर बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको प्रष्ट पार्नुभयो । मन्त्री आङ्बोले सदनमा बोल्ने सांसदहरुको समयको निर्धारण कार्य व्यवस्था तथा परामर्श समितिले तय गर्ने स्पष्ट पार्दै बजेट निर्माण गर्दा सरोकारवाल, स्थानीय तह र निजी क्षेत्रसँग पनि छलफल गर्ने कुरामा जोड दिनुभयो ।

उहाँले ज्यालादारीको काम गर्ने र न्यून आय भएका मानिसहरुलाई अहिलेको अवस्था परेको कठिनाईप्रति सरकार गम्भीर छ भन्दै सरकार कोभिड–१९को रोकथाम र स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न प्राथमिकता राख्ने चर्चा गर्नुभयो । उहाँले सांसदहरुले सामूहिक दायित्व एवं प्रतिनिधित्व गर्न बजेट बन्ने विश्वास दिलाउँदै सरकारको कार्य क्षेत्रमा रहेका अस्पतालको सुदृढ र विस्तार गर्ने जानकारी दिनुभयो ।

न्यून आयस्तर र स्वास्थ्यमा पहुँच नभएका परिवारमा स्वास्थ्य वीमा गर्ने सरकारको लक्ष्य बजेटमा समावेश हुने भन्दै मन्त्री आङ्बोले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने कुरामा जोड दिनुभयो ।

सरकार प्राविधिक शिक्षा र अनलाईन शिक्षामा जोड दिने, दलित, महिला र समाजमा विभेदमा परेका समुदायको जीवन स्तर उकास्न प्राथमिकता दिने बताउँदै मन्त्री आङ्बोले नेपालमा रासायिक मल कारखाना निर्माण गर्न व्यवहारिक नभएको र यसको विकल्पमा अर्गानिक मल कारखाना बनाउन सरकार प्रयत्नशील छ भन्नुभयो ।

कोशी अस्पताल प्रदेश अन्तर्गत आउनु पर्ने
बैठकमा शून्य समयमा मुलुकको समसामयिक विषयमा बोल्दै प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले विराटनगरको कोशी अस्पताल र झापाको मेची अस्पताल प्रदेश सरकारको मातहतमा आउनु पर्ने माग गर्नुभयो । उहाँले अहिले अवस्थाबाट पार लगाउन पिसीआर परीक्षण बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य मोहम्मद ताहिर मियाँले कोरोनाबाट आम नागरिकलाई बचाउन सरकारले आफ्नो गतिलाई बढाउनु पर्ने माग गर्नुभयो । सदस्य मोहनकुमार खड्काले मुलुकमा कोरानाको कारण खाद्य सङ्कट हुन सक्ने भएकोले यसतर्फ सरकार गम्भीर हुनु पर्छ भन्नुभयो । सदस्य रामकुमार राईले खोटाङमा फौजी कीराको प्रकोपको कारण बालीनाली सखाप भइरहेकोले यस तर्फ सरकारले आवश्यक कदम चाल्नु पर्ने माग गर्नुभयो । सदस्य श्रीप्रसाद मैनालीले कोरोनाको रोकथाम एवं उपचारका लागि बनाइने क्वारेन्टाईन व्यवस्थित हुनु पर्ने धारणा राख्नुभयो ।

सदस्य सरिता थापाले संखुवासभाको अस्पतालमा आठ जना चिकित्सकको दरबन्दी रहेपनि अहिले एक जना मात्र चिकित्सक रहेकोले अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३