प्रकाशित : ११ जेष्ठ २०७७, आईतवार १७:००

विराटनगर, ११ जेठ । औषधि व्यवस्था विभाग विराटनगरले औषधि पसलको अनुगमनलाई तीव्र पारेको छ । कोरोनाको कहरको समयमा फार्मेसी सञ्चालकले ठूलै बद्मासी गर्ने गरेको पाइएपछि अनुगमन शुरु गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विराटनगर अस्पताल एवं विराट नर्सिङ होमभित्र सञ्चालनमा रहेको मेडी प्लस फार्मेसीले म्याद सकिएको औषधि बिक्री गर्दै बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ । अनिल चौधरीले सञ्चालन गरेको यो फार्मेसीबाट जेसिक्स–४०० ब्राण्डको सेसिकजीम नामक औषधि म्याद सकिए पनि बेच्ने काम भइरहेको पाइएको हो ।

विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले शरीरमा भएको संक्रमण रोक्न प्रयोग गरिने यो औषधि प्रयोगको अन्तिम मिति गत जेठ ५ गतेसम्मको मात्रै रहेको जानकारी दिनुभयो ।

विभागले कारबाही अघि बढाउन फार्मेसीबाट सबै कागजपत्र जफत गर्दै सञ्चालक अनिल चौधरीलाई पाँच दिनभित्रमा उपस्थित हुन निर्देशन दिएको छ । फर्मेसीका कर्मचारी नारायण दाहालले औषधि बेच्ने क्रममा केही कमजोरी भने स्वीकार गर्नु भयो । सप्तरीका कृष्णकुमार यादवले सञ्चालन गरेको महेश मेडिकल हल र सिरहाका रवीन्द्र महतोले सञ्चालन गरेको पश्चिमवासी फार्मेसीमाथि छानबिन भइरहेको विभागका विराटनगर प्रमुख कट्टेलले बताउनुभयो ।

महेश मेडिकलमा अनुमति प्राप्त व्यवसायी/फार्मेसिस्ट देवनारायण यादव र पश्चिमवासीमा राजेन्द्रप्रसाद मण्डल बसेर औषधि बेच्नु पर्नेमा अरु नै व्यक्तिले औषधि बिक्री गरिरहेको फेला परेको विभागले जनाएको छ ।

मान्यता प्राप्त विज्ञ नरहेको र औषधि बिक्रीमा अरुनै व्यक्ति प्रयोग गर्ने दुवै फार्मेसीको औषधि दर्ता प्रमाणपत्र (लाइसेन्स) नियन्त्रणमा लिएर तत्काललाई औषधि बिक्री बन्द गर्न निर्देशन दिइएको प्रमुख कट्टेलले बताउनु भयो । उहाँकाअनुसार विभागको टोलीले दुईवटा फार्मेसीको लाइसेन्स नियन्त्रणमा लिइरहँदा यी दुईवटाको बीचमा रहेको गोलबजार फार्मेसीका सञ्चालक भने सटर लगाएर पसल बन्द गर्दै फरार बनेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३