प्रकाशित : १० जेष्ठ २०७७, शनिबार १९:१८


विराटनगर, १० जेठ । झापामा एकसय वेडको कोरोना अस्पताल बनाईने भएको छ ।
प्रदेश १ सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको हो ।
कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको प्रदेश सभा सदस्य बसन्त बानियाँले बताउनुभयो । बानियाँका अनुसार मेची अस्पतालको नव निर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने आज सरोकारवालाको बैठकले निष्कर्ष निकालेको हो ।
कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताउनुभयो । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ ।
झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ ।