प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार १७:०८


विराटनगर, ५ जेठ । प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले विराटनगरमा औषधि व्यवसायीको हत्या गरेको पुष्टी भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीय औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो ।
दुलालको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । प्रहरीले हत्यामा संलग्नहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रेमीसँग मिलेर श्रीमतीले शनिबार राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीबाट फेला पारेको छ ।
घटनाको प्रमाण नष्ट बनाउन हत्यामा प्रयोग गरिएका सामान घटनास्थलबाट लगेर अन्यत्र फ्यालिएको पाइएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न ब्रह्मदेवलाई हिजो साँझ विराटनगरको बरगाछीबाट प्रहरीले पक्राउ गरेको थियो ।
दुलालले आफ्नो औषधि डिलरबाट निकालिदिएपछि उनी बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालेको पनि पाइएको छ । हत्यामा संलग्न दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।