रामचन्द्र अधिकारी प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार १७:००

                        रामचन्द्र अधिकारी

कोरोना भाइरसका कारण विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगले राम्रो केहीलाई गरेको छैन । मानवस्वास्थ्य त चौपटै छ । संक्रमण हुने डरले अक्रान्त र आतेस पैदा भएको छ र मानसिक रोगका विरामी बढेका छन् । वनको बाघले खाला नखाला तर मनको बाघले खाएर मानिस यसप्रकारका मानसिक समस्यामा परेका छन् । यर्थाथतामा विरामी हुने त भइहाले । अस्पतालमा उपचार गर्न छिर्न नपाउने अवस्था छ ।

आर्थिक पाटो बर्बादै छ । व्याख्या गरेर साध्य छैन । चलिरहनुपर्ने, घुमिरहनुपर्ने,बढिरहनुपर्ने पैसा खिइरहको छ, सकिरहेको छ । विकास खतम भए । नेपालमा अधिकजसो काम सुरु गरिने महिना चैत्र लाग्दादेखि नै रोगको त्रासदी फैलिएका कारण विकास ठप्प प्रायः भयो । २५ प्रतिशत पनि बजेट काममा लाग्न नपाउँदै कामहरु स्थगित भए । बरु चार प्रमुख शीर्षकका बजेटहरु शीर्षकान्तरण भए ।
शैक्षिक क्षेत्रको क्षति पूर्ति हुन सक्ने खालको रहेन । एसईई परीक्षा अड्किएको छ, कक्षा १२ र ११ का परीक्षा पनि उसै स्थगित भए । विश्वविद्यालयका परीक्षा स्थगित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने बेलामा बन्दाबन्दीको अवस्थामा बस्नुपरेपछि शिक्षाको अवनति वा पश्चगमन कति भयो भन्ने कुरा भविष्यमा मात्र हिसाबकिताब हुनसक्छ ।

समाजमा सामाजिक विकृति र विसंगतिहरु बढेर गएका छन् । जति बन्दाबन्दी लम्बिन्छ उति नै सामाजिक विसंगति उछालिएर जाने निश्चित छ । राजनीतिलाई समेत यस महाव्याधीले के हो कसो पारिरहेको छ । धेरै देशहरुमा (नेपालमा नै पनि )राजनीतिलाई यही महाव्याधीले निकै धरमर बनायो । धङ्धङी अद्यापि सकिएको छैन । तथर्स, सामाजिक,आर्थिक,राजनीतिक,स्वास्थ्य,शिक्षालगायतका मानवसंसाधन अनि मानवजीवनका सरोकार कुनै त्यस्तो क्षेत्र छैन जसलाई कोभिडले प्रभाव पारेको नहोस् । तर, वातावरण क्षेत्र जुन स्वास्थ्यकर जीवनको लागि अनिवार्य मानिन्छ अथवा भनौ जीवनको आश्रय वा आधार वातावरण हो, यो क्षेत्रलाई चाहिँ कोभिडले राम्रो गरेको छ ।

वातावरणले पनि आराम चाहन्छ प्रकृतिसँगै । कहिल्यै हाम्रो प्रकृतिले आराम पाएन । उसमाथि दोहन गरिरहँदा उसलाई ज्वरो आएको थियो र विरामी थियो । अहिले वातावरणले आराम पाएको छ र कोभिडको प्रकोपसँग मानिस जुध्न थालेका बखत वातावरणले रमाउन पाएको हो ।
आँखाले देखेको मात्र होइन तथ्यांकहरुले पनि देखाएका छन् कि वास्तवमै विश्वको प्राकृतिक वातावरण सङ्लिएको छ । नेपालको सन्दर्भमा कुरा गरौँ –काठमाण्डौबाट विश्वको सर्वोच्च शिखर सगरमाथा प्रष्ट देखिन थालेको छ ।

हावाको प्रदूषण यति घटे छ कि दुई सय किलोमिटर टाढा रहेको सगरमाथा चोभारको डाडाबाट सफासँग देखिएका फोटा विभिन्न एजेन्सीहरुले पनि सार्वजनिक गरेका छन् । काठमाण्डौको सफा आकाश र अनि विभिन्न डाडाबाट देखिएका शहरका विभिन्न खण्डहरुका तस्वीर पनि सार्वजनिक भइरहेका छन् । वायु सफा भएको एउटा सूचक यही हो । हावाको गुणस्तर मापन तथा निर्धारण गर्ने आधिकारिक निकाय वातावरण मन्त्रालयले जनाएअनुसार हिजो आजको काठमाण्डौको हावामा धूलोका कणको मात्रा ५० देखि ८५ छ । यो पिएम १० एकाइमा आधारित हो ।

विगत वर्षहरुमा एक सय ८० भन्दा माथि थियो, कुनैबेला त पाँच सय सम्म पुगेको थियो । अरु शहरहरुको पनि अवस्था एकदम राम्रो छ । जस्तैः पोखराको पढित अंक ५८, विराटनगरको ७५ नेपालगञ्जको ५४ यस्तै छ । पूर्वका अन्य शहरहरुको हावा यी ठाउँको भन्दा असल छ । जस्तैः दमकको ३९ मात्र छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पिएम १० का आधारमा भन्नुपर्दा ५० सम्मलाई पहिलो दर्जाको असल मानिन्छ । ५० देखि १०० सम्मलाई सन्ताषजनक मानिन्छ । यसआधारमा नेपालमा अहिले कतै असल र कतै चाहिँ सन्तोषजनक अवस्थामा वायुको गुणस्तर छ । अलिकति केही दिनदेखि विराटनगरको बिग्रिएर १७ मेका दिन १७५ पुग्यो । सुख्खा भएर हावा चल्दा पनि यसरी ह्वात्तै धूलोका कण हावामा जमेका हुनसक्छन् । यसअघि विराटनगरमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा सात गुणा बढी दूषित पाइएको थियो । काठमाण्डौको पनि उस्तै र पूरै तराईका शहरहरुको असल स्तरको थिएन । कहीँकतै सन्तोषजनक मात्र थियो ।

कोभिडका कारण गरिएको लकडाउनका कारण यातायातका साधनहरु सञ्चालनमा छैनन् । अत्यावश्यक सेवाका केही साधनबाहेक अरु चलेका छैनन् । नेपालमा दर्ता भएका यातायातका साधनको संख्या ३२ लाख छ । यतिका साधन सडकमा गुड्दा हावालाई कति दूषित बनाउँदो हो । यति साधनमध्ये करिब १२ लाख चाहिँ काठमाण्डौ उपत्यकाभित्र छन् । अनि यतिका साधन थान्को लागेपछि वातावरण शुद्ध नहुने कुरै भएन । एक अध्ययनले देखाएको छ कि काठमाण्डौको हावामा भएको धूलोका कणको मात्राको ७० प्रतिशत चाहिँ यातायात साधनबाट नै आउने गरेको छ ।

धूलो मात्र होइन धूँवाका मूल स्रोत पनि यातायातका साधन नै हुन् । एउटा राम्रै अवस्थाको पेट्रोल गाडीले दुई सय ग्राम प्रतिकिलोमिटर दरले धूँवा निकाल्छ । त्यसैगरी डिजेलले अलि कम –प्रतिकिलोमिटर एक सय २० ग्रामका दरले धूँवा फाल्ने हो । यस्तो धूँवामा कार्वन डाइअक्साइड,कार्वन मोनोअक्साइड, सल्फर अक्साइडहरु, नाइट्रोजनका अक्साइडहरु, गह्रौँ धातुका कणहरुलगायतका वस्तुहरु हुन्छन् । मापदण्डले भन्छ कार्वनडाइअक्साइडको मात्रा ७५ प्रतिशतभन्दा बेसी र मोनोअक्साइडड साढे चार प्रतिशतभन्दा माथि हुनुहुन्न । यो रेखाभन्दा माथि भयो भने सो धूँवाले ठूलो क्षेत्रफलको हावालाई दूषित बनाउने हो । लकडाउनका समयमा यस किसिमका हानिकारक वस्तुका स्रोत नै बन्द भए त हावाको गुणस्तरमा सुधार आउने नै भयो र आयो पनि ।

नेपाल आयल निगमका अनुसार लकडाउन सुरु भएको १५ दिनमा पेट्रोलियमको बिक्री काठमाण्डौमा ४५ प्रतिशतले गिरावट आएको थियो । अन्य शहरमा करिब ७५ प्रतिशत नै कम भएको छ । प्रदूषण कम भएको प्रमाण अर्को पनि छ । काठमाण्डौमा श्वासप्रश्वाससम्बन्धीका रोगीहरुको संख्यामा गिरावट आएको छ । अन्य क्षेत्रमा पनि दमलगायतका तत्कालीन संक्रमणीय रोगहरुको प्रकोप कम भएको सम्बन्धित निकायहरुबाट जानकारी पाइएको छ ।

हावा मात्र होइन पानीको गुणस्तरमा सुधार आएको छ । अरुतिरको नदी खोल्सी या पोखरीबाट खास भन्न सकिँदैन तर काठमाण्डौकै नदीनालाहरु यो कुराका प्रमाण हुन् । लकडाउन सुरु हुनुअघिको महिनामा वागमती नदीमा बायोलोजिकल अक्सिजन डिमान्ड(अक्सिजनको जैविक माग) पाँच सय पचास मिलीग्राम प्रति लिटर थियो । यो भनेको पानी धेरै दूषित हो । घुलित कार्वनडाइअक्साइडको मात्रा पाँच सय मिलीग्राम प्रतिलिटर पाइएको थियो–मीनभवन आसपास खण्डमा । त्यस्तै घुलित ठोस पदार्थको मात्रा करिब चार सयको हाराहारीमा पाइएको थियो । लकडाउन सुरु भएपछि वागमतीलगायतका नदीहरुको पानीको शुद्धता हौसिएर आएको छ । सङ्लो पानी बग्न थालेको स्थानीयहरुले बताइरहेका छन् ।

के कोभिडले अत्याएपछि पूर्वसावधानीका लागि अपनाइएको लकडाउनकै कारणले वातावरण सुध्रिएको हो त ? अधिकांशले यसलाई नकार्दैनन् । वातावरण वैज्ञानिकले पनि यसमा विश्वास गरेका छन् । तर यो मात्र कारण चाहिँ होइन । किनभने यो सिजन नै स्वच्छ वातावरणको हो । रुखविरुवामा पालुवा भरिने, फुल्ने बोटविरुवामा फूल भरिने भएकोले हराभरा र मनोरम वातावरण छ । साथै पूर्वमनसुनको समय भएको कारणले केही पानी पनि परिरहेको छ । जसले सडकको धूलो मारिदिएको छ । यही सिजनमा भूइँमा मसिना झारहरु पलाउने हो । न धेरै गर्मी न जाडो । मौसम उसै साविक झैँ राम्रो,स्वच्छ र रमाइलो छ । अहिले नेपालमा पूर्वी हावा चलिरहेको छ । हावाको वेग सातदेखि १० किलोमिटर प्रतिसेकेन्ड रहेको छ । यतिको हावा चल्नु नै शितलु अवस्था हो जसले उखुम गर्मी हुन दिँदैन । यसर्थ सुनमा सुगन्ध थपियो कि लकडाउनले स्वच्छता थपिदियो ।

वातावरण स्वच्छ हुनुले हामीलाई भाग्यमानी पनि बनाएको छ किनभने स्वच्छ वातावरणमा कोरोनाको संक्रमण कम भएको पाइएको छ । ठीक विपरीत जति प्रदूषित वातावरण उति नै कोरोनाको संक्रमण तिव्र । हालको कोभिडको मृत्युको अवस्था हेर्दा सबैभन्दा बढी प्रदूषित क्षेत्रमा सबैभन्दा धेरै छ । हार्डवर्ड विश्वविद्यालयका अनुसन्धाताको समूहले गरेको अनुसन्धानको विवरणले भनेको छ कि जति प्रदूषण उति धेरै कोरोनाको संक्रमण बेसी र मृत्युदर उच्च ।

स्पेन,इटली,जर्मनी,फ्रान्स देशको वस्तुस्थिति हेर्दा कोभिडबाट भएका ८० प्रतिशत मृत्यु प्रदूषित क्षेत्रमा भएको छ । भौतिक शास्त्र र खगोलविज्ञानका वैज्ञानिकहरुको एक अध्ययनले कोरोनालगायतका संक्रमणकारी भाइरसहरु हावामा भएका धूलाका कणहरु(एरोसोल)सँग मिलेर बसेका हुन्छन् । यस्तो भएपछि जति धूलो उति भाइरसको घर बलियो । बोलङ्गा विश्वविद्यालयको एक अनुसन्धान टोलीले भाइरसको यात्राको बारेमा अनुसन्धान गरी यस्तो निष्कर्ष दिएको छ–वायुप्रदूषणले भाइरसको घर र यात्रालाई सुरक्षित र सजिलो बनाएको छ जसका कारण प्रदूषित वायुले कोभिड १९ लाई बढावा दिन्छ ।

नेपालको वातावरणीय अवस्था हाल लकडाउन वा कोभिडको समयमा उस्तो अतालिनु पर्ने गरिको नभएका कारण हामीलाई केही आहात भएको छ । आशा गरौँ हाम्रो देशको स्वच्छ हावापानीले हामीलाई बलियो र सुरक्षित बनाइराख्छ कि !

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३