प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार ०७:३५

विराटनगर ५ जेठ । विराटनगरमा कोरोना संक्रमित बस्दै आएको क्षेत्र सिल गरिएको छ । प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकाको वडा नम्बर ६ र १५ मा बसोबास गर्दै आएका दुई जनामा हिजो संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै जिल्ला सुरक्षा समिति मोरङको आइतबारराति सम्पन्न बैठकले बाक्लो बसोबास र जनघनत्व भएका दुवै वडाका निस्चित स्थानलाई सिल गर्ने निर्णय गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले संक्रमित बसेको क्षेत्र सिल गर्दै उनीहरुको सम्पर्कमा रहेकाहरु र परिवारका सदस्यको खोजी गर्ने काम थालिएको बताउनुभयो । ‘कोही कसैलाई पनि घरबाट बाहिर हिँडडुल समेत गर्न नदिने हिसाबले संक्रमितको बसोबास रहेको क्षेत्र सिल गरिएको छ,’ उहाँले भन्नुभयोे, ‘स्वास्थ्य परीक्षण र चेकजाँचका लागि संक्रमितको सम्पर्कमा रहेका र परिवारका सदस्यहरुको सूची तयार गर्ने काम पनि थालिएको छ ।’

विशेष गरेर नेपाल–भारत सीमा क्षेत्र भारतको जोगवनी नजिकै रहेको विराटनगर १५ को हटताली हाट क्षेत्र र विराटनगर ६ को सरोचियालाई केन्द्रीत गरेर सिल गरिएको प्रजिअ भुजेलको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले निगरानी बढाउन र कोही कसैलाई पनि बाहिर निस्कन एवं हिँडडुलमा रोक लगाउन सिल गरिएका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको बताए । संक्रमित फेला परेका क्षेत्रका बासिन्दाको परीक्षण पनि तत्काल थालिने भएको छ । स्थानीय बासिन्दा र संक्रमितका परिवारका सदस्यको परीक्षणलाई सहज बनाउनकै लागि संक्रमित बसेका क्षेत्र सिल गरिएको एसपी अधिकारीको भनाइ छ । विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुलाई कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको निगरानीमा राख्दै हेरचाह गरिने भएको छ । एसपी अधिकारीले कोरोना संक्रमण एकबाट अर्कोमा चाँडै सर्ने भएकाले फैलन नदिन संक्रमित बसेका क्षेत्र सिल गर्दै निगरानी बढाएर कडाई गरिएको जानकारी दिए । उनकाअनुसार विराटनगरमा अति आवश्यक मानिने दूध र पानीका गाडी तथा एम्बुलेन्स बाहेक सामान ढुवानी एवं अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अर्को निर्णय नभएसम्म सिल गर्ने निर्णय यथावत रहने जानकारी अधिकारीले दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना संक्रमणले समुदाय नै उच्च जोखिममा परेका कारण सबैले होसियारी अपनाएर घरबाट बाहिर निस्कने र अरुसँग सम्पर्कमा रहने काम बन्द गर्नु पर्ने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३