प्रकाशित : २२ बैशाख २०७७, सोमबार १८:२५

विराटनगर,२२ वैशाख । कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा ब्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नुका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् ।

केन्द्रको धार्मिक सहिष्णुता देखेर कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ कोभिड –१९का पोजेटिभ सङक्रमितहरु सेवा तथा उपचारबाट खुशी रहेका छन् ।

सङक्रमितहरु आफ्नो दिनचर्या साधारण रुपमा अन्य समय झै व्यतित गरिरहेका छन् । केन्द्रमा यही वैशाख ५ गते बेलुकी उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट ल्याएको कोभिड पोजेटिभको उपचार शुरु गरिएदेखि आजसम्म ३१ जनाको उपचार भइरहेको छ ।
प्रदेश नं १ को सरकारले स्थापना गरेको विराटनगर–१० मा रहेको केन्द्रमा १०० शैय्या मध्ये १० शैययाको भेन्टिलेटर सहितको सघन उपचार कक्ष रहेको छ ।

केन्द्रमा दुई महिला , १२ भारतीय सहित ३१ जनाले दैनिक रुपमा आफ्नो कार्य गरी समय बिताई रहेका छन् । उपचार केन्द्रको व्यवस्थापन, गम्भीरता, हेरचाह, सरसफाई, व्यवहार, सङ्क्रमितप्रतिको सकारात्मक सोच र जवाफदेहीताबाट उनीहरु केन्द्रको उपचार व्यवस्थापनबाट प्रसन्न रहेका छन् ।

महिलालाई अलग कोठा सहित सबैलाई केन्द्रको तल्लो तल्लामा राखिएको छ । उनीहरुले दैनिक रुपमा आफ्नै कोठामा साधारण व्यायाम गर्ने गरेका छन् भने अन्य समयमा केन्द्रले जडान गरेको इन्टरनेटबाट मनारञ्जन गर्ने गरेका छन् ।
सङक्रमितहरुलाई अहिले साधारण औषधि प्रयोग गर्ने गरिएको छ भने निजहरुले पहिले देखि प्रयोग गरिरहेको औषधि समेत सुचारु नै रहेको छ ।

मुस्लिम समदायले आफ्नो समय अनुसार नमाज पढ्ने गरेको केन्द्र व्यवस्थापन समितिले जनाएको छ ।
उपचार केन्द्रमा रहेका १७ जना मुस्लिम समुदायले एक महिना बस्ने रोजा(ब्रत) बसिरहेको केन्द्रका व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो ।
केन्द्रले मुस्लिम समुदायलाई माग अनुसार धार्मिक ग्रन्थ कुरानको व्यवस्था गरिदिएको छ।

प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्क्रमितको उपचार सेवामा कुनै कमि हुन नदिने बताउँदै अग्रभाग कार्य गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्यप्रति सरकारले ध्यान दिएको बताउनु भयो ।
उहाँले सङ्क्रमितको उपचारमा कार्य गर्ने चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई खाना, बास, तथा प्रोत्साहन भत्ता, वीमा लगायतको व्यवस्था गरिएको जानकारी दिनु दिँदै इस्लाम धर्मावलम्बीहरुको महान् चाड रमजान पर्वको शुभकामना पनि दिनुभयो ।
केन्द्रका प्रत्येक कोठामा सिसि टिभि राखिएकाले चिकित्सकले त्यसैबाट अनुगमन गर्ने गरेका छन् भने सङ्क्रमितहरुले आवश्यक परेको बेलामा मोबाइलबाट सम्पर्क गर्ने गरेको संयोजक बस्नेतले जानकारी दिनु भयो ।

सङ्क्रमितहरुमा अहिलेसम्म कुनै समस्या नदेखिएको र साधारण रुपमा बसिरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताउनु भयो । उनीहरुमा कुनै खास लक्षण समेत नदेखिएको डा. मिश्राले जानकारी दिनु भयो ।

केन्द्रमा उपचारका लागि चार चिकित्सक, चार नर्स, तीन स्वास्थ्यकर्मी र तीन सफाई कर्मचारी दैनिक कार्य गरिहेका छन् ।
चिकित्सकले दैनिक छ घण्टा र नर्स , स्वास्थ्यकर्मी तथा सफाई कर्मचारीले दैनिक आठ÷आठ घण्टा एक सप्ताह उपचार केन्द्र भित्र र बाहिर कार्य गरेपछि १४ दिन क्वारेन्टाइनमा जाने व्यवस्था गरिएको डा. मिश्राले बताउनु भयो ।
उपचारार्थ सङ्क्रमितलाई चिया, कफिको सम्पूर्ण सामाग्रीको व्यवस्था गरिएको व्यवस्थान समितिका सदस्य ध्रुव उराँवले जानकारी दिनु भयो ।

सङ्क्रमितहरुमध्ये १७ जना मुस्लिम रोजा(ब्रत) बसेको हुनाले साँझ ५ः३० बजे खाजा(इफतार), साँझ ६ः३० बजे खाना र बिहानको ३ बजे खानुपर्ने खाना(सेहरी) बेलुकी नै उपलव्ध गराइने गरिएको छ । कोरोना सङ्क्रमितहरुको आज १० औँ रोजा हो । यसलाई पहिलो असरा पनि भनिन्छ । उहाँहरुको अझै २० वटा रोजा बस्न बाँकी छन् । रमजान महिनालाई १०÷१० दिनको तीन असरामा बिभाजन गर्ने परम्परा छ ।
यसैगरी अन्यका लागि बिहान ८ वजे खाजा, ११ वजे खाना, दिउँसो फलफूल र साँझ ६ः३० खाना उपलव्ध गराइएको सदस्य उराँवले जानकारी दिनु भयो ।

सङ्क्रमितहरुलाई खानामा हरियो सागसव्जी, माछामासु, अण्डा एवं माग अनुसार भात र रोटीको व्यवस्था गर्ने गरिएको छ । उनीहरुलाई खानाको लागि होटल इस्र्टन स्टार र रुबिजबाट प्याकेटमा ल्याउने प्रवन्ध मिलाइएको छ ।
रोगप्रतिरोध क्षमता आर्जनका लागि दैनिक मौसम अनुसारको फलफूल उपलव्ध गराइको संयोजक बस्नेतले भनाई छ ।
सङक्रमितले प्रयोग गरेको खानाको प्याकेट सहितको फोहरलाई सङक्रमण रहित बनाएर खाल्डोमा पेट्रोलबाट जलाइने गरेको समितिका सदस्य उराँवले जानकारी दिनु भयो ।

सङक्रमित उपचार गराइरहेका मध्ये पहिलो चरणमा आएका १३ जनाको एक पटक थ्रोट स्वाव नमूना सङकलन गरिएको छ भने आज दोश्रो पटक नमूना सङ्कलनको परीक्षणबाट आएको रिपार्टको आधारमा उनीहरुलाई घर फर्कन दिन सम्बन्धमा छलफल गरिने बताउनु भयो ।
सङक्रमितलाई घर पठाउन दुई पटक स्वाव(पिसिआर) रिपोर्ट नेगेटिभ आएमा एक हप्ता घरमै क्वारेन्टाइनमा बस्न आग्रह सहित पठाउने सकिने समितिका संयोजक बस्नेतले बताउनु भयो ।

केन्द्रमा स्वास्थ्य सुरक्षा प्रति ध्यान दिइ केन्द्रका सम्पूर्ण क्षेत्रमा निर्मलीकरण गर्नुका साथै सङ्कमितले प्रयोग गरेका सामान सुरक्षित तरिकाले सङ्मणरहित बनाई व्यवस्थापन गर्ने गरिएकोले अन्य क्षेत्रमा सङ्मण फैलने सम्भावना नरहेको संयोजक बस्नेतले बताउनु भयो ।
औषधिको थोक बिके्रता विराटनगर–१० का राजेशसिंह डङ्गोलले कोभिड–१९बाट सङक्रमित उपचारका खटिने स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन दिनु पर्ने बताउँदै केन्द्रको उपचार कार्य सरहनीय छ भन्नु भयो ।

प्रदेश सरकारले कोभिडबाट सङक्रमितहरुको उपचारलागि सुविधा सम्पन्न अस्पताल बनाउने निर्णय अनुसार बिगतको नेशनल ट्रेडिङको लि. को पुरानो भवनलाई आवश्यक मर्मत सम्भार गरी सुविधा सम्पन्न केन्द्र १० दिनभित्रमा तयार गरिएको हो । केन्द्रमा कोशी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आवश्यक स्वास्थ्य सेवा पुर्याइरहेका छन् ।

केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारहरुलाई होटलबाट निःशुल्क खाना व्यवस्था गरिनुका साथै बसोबासका लागि स्थानीय इस्र्टन र रुविज होटलहरु र जैन भवनमा व्यवस्था गरिएइको छ । रासस

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३