प्रकाशित : २२ बैशाख २०७७, सोमबार १७:३१

विराटनगर, २२ वैशाख । संघीय सरकारले प्रदेश १ का आठ जिल्लालाई अति जोखिमपूर्ण क्षेत्रको सूचीमा राखेको छ ।

जोखिम क्षेत्र अर्थात रेडजोनमा प्रदेश राजधानी विराटनगरअवस्थित मोरङ जिल्ला पनि छ । प्रदेश १ को उदयपुरमा २८, झापामा दुई र भोजपुरमा एक जना गरी प्रदेशभरि ३१ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

सरकारले महामारी नियन्त्रण तथा रोकथामका लागि केन्द्रीय तहमा निर्माण गरेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले रणनीतिक रायसुझाव पेस गरिसकेको छ । सुरक्षा स्रोतका अनुसार प्रदेशका तराई–मधेसमा अवस्थित जिल्लाहरू झापा, मोरङ र सुनसरी तथा भित्री मधेसको उदयपुरसहित पहाडी जिल्ला इलाम, तेह्रथुम र भोजपुर रेडजोनमा छन् । यसैगरी हिमाली जिल्ला ताप्लेजुङलाई पनि उच्च जोखिमपूर्ण क्षेत्रमै राखिएको छ । धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुङ्गा आंशिक जोखिम अर्थात (एल्लो जोन) मा छन् । यसैगरी हिमाली जिल्ला सोलुखुम्बु भने न्यून जोखिम (ग्रिनजोन) मा छ ।

रेडजोनमा परेका ८ जिल्लामा अरू १५ दिनसम्म लकडाउन जारी राख्दा उपयुक्त हुने सुरक्षा संयन्त्रले सरकारलाई सुझाव दिएको बताइएको छ । प्रदेशहरूबाट प्राप्त सुझावका आधारमा सरकारले लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने तयारी गर्ने संघीय सरकारले जानकारी गराइसकेको छ ।

जोखिमक्षेत्र छुट्याएर लकडाउन लागू गरिए अतिजोखिम क्षेत्रमा कडाइ गर्नुपर्ने र अन्यत्र भने सामाजिक दूरी कायम गराएर जनजीविका तथा अन्य गतिविधि सञ्चालन गर्न सकिने विषयमा प्रदेशस्थित सरकारहरूले पनि अध्ययन गरिरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३