प्रकाशित : २९ चैत्र २०७६, शनिबार १८:००

रामचन्द्र अधिकारी

जीव जगतमा सबैभन्दा ठूलो सफलता भनेको उड्नु हो । यसको प्रमाणित दुई वटा कुराले गर्छन् । पहिलो –क्रविकास हेर्दा समुद्रमा उत्पति भएका जीव क्रमशः पातलो पानी,जमिन हुँदै आकाशमा उड्ने भएका हुन् । दोश्रो हो– मानिस पनि त सँधै उड्न चाहन्थ्यो । उडानका लागि कति प्रयास गर्यो शारीरिक प्रयासले नसकेपछि यान्त्रिक प्रयासबाट मानिस उड्न सक्ने भयो । तसर्थ मानिसको सबैभन्दा ठूलो चाहना र सफलता पनि उडाइ नै । अहिले पनि उडेर अरु आकाशीय पिण्डहरुमा को पहिला पुग्ने भन्ने होडबाजी चलिरहेकै छ । विकासक्रमको अध्ययन गर्ने विज्ञानले भन्छ– स्तनधारीहरुमा सबैभन्दा सफल जनावर चमेरो हो जसको जीवन भूइँमा नउत्रिईकन चलेको हुन्छ । मान्छेभन्दा हजारौँ वर्ष पहिलेदेखि चमेरोले स्वच्छन्द उडान भर्न थालेको हो ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस चमेरोबाट मानिसमा आएको भन्ने कुरामा लगभग वैज्ञानिक विश्वस्त बनेका छन् । हुन त हालसम्म यथार्थ कारण र माध्यम पुष्टि भएको छैन । तथापि, कोरोनाजस्तै आचरण भएका सार्स र मर्स भाइरस पनि चमेरोबाट मानिसमा आएका थिए भन्ने आधारबाट कोरोना पनि चमेरोबाटै आएको हो भन्नेमा विश्वास गरिएको हो । कोरोनालाई सार्स–२ पनि भनिएको छ किनकि सार्सको भाइरससँग बनावटमा अधिकांश मेल खान्छ भनेर सन् २००५ मा चिनीयाँ वैज्ञानिकहरुले थाहा लगाएका थिए । एक ताका फैलिएको सार्स भाइरस चमेराबाट बिरालो हुँदै मानिसमा आएको थियो । त्यस्तै मर्सको भाइरस पनि चमेरोबाट उँट हुँदै मानिसमा आएको थियो ।
यसको चाहिँ लमी(माध्यम) जनावरको टुंगो भएको छैन कतै सालक पो हो कि भन्ने आशंकामा वैज्ञानिकहरु अनुसन्धानमा लागेका छन् । यसमा फरक मत राख्नेहरु पनि छन् साह्रै छट्टु जीव भाइरस कि चाहिँ बिना माध्यम चेमेरोबाट एउटा रुप धारण गरी बिना कुनै माध्यम मानिसमा पस्यो र तुरुन्तै उत्परिवर्तन भई यहीँ अनुकुलित भयो । यथार्थ लगभग पुष्टि भएको छ,तापनि स्रोत जनावर चाहिँ चमेरो हो भन्ने एक प्रकारले निश्चित छ ।

वास्तवमा जीव विज्ञानमा चमेरोलाई भाइरसको खानी भनिन्छ । यसको जीउमा कम्तीमा पनि ६० प्रकारका मानिसलाई संक्रमण गर्न सक्ने भाइरस बसेका छन् भनेर अष्ट्रेलियन जर्नल अफ जुलोजीले एक लेखमा उल्लेख गरेको छ । रेबिज भाइरस,हेन्ड्रा,निपा भाइरस जसले विश्वलाई विभिन्न समयमा तर्साए,ती पनि चमेराकै शरीरमा बस्ने र मान्छेमा आएका हुन् । खासमा यसलाई भाइरसको खुल्ला तथा ग्राहिय जनावर पनि भनिन्छ जसको अर्थ हुन्छ वातावरणका भाइरसहरुलाई सजिलै आफ्नो जीउमा आउन र बस्न दिने । चमेरो स्वतन्त्र उडान भर्ने जनावर भएको कारणले यसबाट कुनै पनि बिराम त्यसमा पनि भाइरल त चाँडै नै धेरै ठाउँमा फैलिने भयो । चमेरो सर्बव्यापी जीव हो र संसारका धु्रवीय र सामुद्रिकबाहेक सबै हावापानीमा पाइन्छ ।

संसारमा यसका कम्तीमा पनि एक हजार दुई सय प्रजाति छन् जुन जम्मा स्तनधारीको २० प्रतिशत हुन आउँछ । नेपालमा विभिन्न अनुसन्धाताले फरक तथ्यांक दिएका छन् । अनुसन्धाता पुष्पराज जोशी र हरि अधिकारीहरुले यहाँ ५८ प्रजाति पाइने र अरु २३ प्रजाति सीमावर्ती क्षेत्रमा पाइने भएको हुनाले नेपाल भित्र यी पनि थप हुनसक्ने भनेर उल्लेख गरेका छन् । यसले नेपालमा चमेराको उपस्थिति निकै बाक्लो देखाएको छ ।

औसत आयु २० वर्ष जति हुने यो जीवका थुप्रै आश्चर्यजनक तथ्यहरु छन् । यो राति उड्छ तर आँखा देखेर होइन । यसले २० किलो हर्जभन्दा ठूलो आवृत्ति भएको अल्ट्रा ध्वनि निकाल्छ जुन हामी सुन्न सक्दैनौ । सो ध्वनि केही वस्तु वा सतह आदिमा ठोक्किएर परावर्तन भई आएको प्रतिध्वनि सुनेर यसले आफ्नो अवस्थिति,अवरोध र गन्तव्य पत्ता लगाउँछ । झुण्डिनेसहित उड्ने अनुकुलताको लक्षण भएको यो नै पहिलो र एक मात्र स्तनधारी हो । यो जनावरको प्रजनन् अति अचम्मको छ । संसर्ग भएको केही महिनासम्म पोथीले वीर्य आफ्नो जीउमा सुरक्षित राख्छे र अनुकुल हेरिकन गर्भाधान गराउँछे । त्यति मात्र होइन बच्चा पाउन प्रतिकूल अवस्था यदि रहेछ भने केही महिना नजन्माएर पाठेघरमै राखिरहन्छे ।

भाइरस सारेर मानिसलाई यस्तो आतंकित पार्ने जीवको मानिससँग भने निकै घनिष्ठ सम्बन्ध छ । प्रायसः मानिसका बस्ती आसपासमा नै बस्छ र मानिसका फलफूल बगैँचामा विचरण गर्छ । अमेरिकामा भएका ४७ प्रजातिमध्ये ३५ प्रजाति मानिसले नै बनाएका भवन या अन्य निर्माणमा बसेका छन् । संसारका सबै देशका मानिसले चमेरोको मासु विभिन्न अन्धविश्वासी आस्था र प्रयोजनमा खाने गरेका छन् । ठूलो पm्लाइङ फक्स भनिने चमेरो त मान्छेले शिकार गरेकै कारणले संकटापन्न अवस्थामा पुगेको भनेर यस क्षेत्रका वैज्ञानिकहरुले बताएका छन् ।

मानव जगतमा आतंक फैलाउने र सिंगो विज्ञानलाई नै चुनौति दिएर मानव अस्तित्वमाथि धावा दिने भाइरस बोक्ने जीवका पनि फाइदाप्रदत्त कुरा होलान् र ! भन्ने लाग्ला । यद्यपि केही राम्रा कुरा अवश्य छन् । जीव वैज्ञानिकले भनेका छन्–चमेरोको अनुपस्थितिमा केरा,एभोकाडो,आँपको उत्पादन नसोचे पनि हुन्छ । भूमध्येरेखीय वनक्षेत्रका पाँच सय प्रजातिका वनस्पतिहरु चमेराबिना परागसेचित हुन्नन् । यसले फूलमा प्रजनन् गराउने र फलफूल खाने कीरालाई नियन्त्रण गर्छ । अमेरिकामा चमेराकै सहयोगले कम्तीमा चार अर्बदेखि ५३ अर्ब डलर बराबरको विषादी खरिदको रकम सालिन्दा जोगाइदिन्छ–बोइलेस र उनका साथीहरुले साइन्स भन्ने विज्ञान पत्रिकामा २०११ मा लेख लेखेका छन् । ब्याट वल्र्ड भन्ने संस्थाका अनुसार करिब तीन सय प्रजाति चमेराहरु फलफूल खान्छन् । फलफूल नखानेहरुले कीरा खान्छन् । आकाशमा उड्दै एउटै चमेराले दैनिक हजारौँको संख्यामा लामखुट्टे,भुसुनालगायतका हानिकारक कीरा खाइदिएर हामीलाई सुरक्षित राख्ने प्रयास गरेको छ । यसलाई प्रकृतिको कुचीकारको संख्या पनि दिइन्छ ।

हामीलाई रोग फैलाइदियो भनेर यसप्रति आक्रोसित हुनुपर्ने छैन । किनभने यो आँफै ‘विचरा’ हो । यसलाई फन्जाई र भाइरसले औधि आक्रमण गर्दछन् । यिनीहरुमा पनि महामारी फैलिन्छ । ह्वाइट नोज सिन्ड्रोमका कारण वर्सेनी लाखौँ चमेरा मर्ने गरेको तथ्यांक छ । यो फन्गल संक्रमण भएपछि ९० देखि सत प्रतिशत नै मृत्यु हो । त्यति मात्र होइन यसका जीउमा बस्ने उपिँया,उडुस,झिँगा,सिँधुरेजस्ता थुप्रै परजीवी छन् । तिनीहरुले यिनलाई साह्रै सताएको पाइन्छ । सर्प,बिरालो,बाज,फालकोन र हुचिलजस्ता जन्तुले पनि चमेराको शिकार गर्छन् । चमेरा वैज्ञानिक जे रिडेलका लेखहरुका अनुसार अनेक किसिमका शत्रुबाट दिउँसो गतिविधि गर्न आजित भएर बच्नका लागि नै आजभन्दा करिब पाँच करोड वर्षअघि इओसिनि कालखण्डमा यो जीव राति सक्रिय हुन थालेको हो ।

यस जीवलाई विश्वभर संरक्षण गर्ने प्रयास गरिँदै आइएको छ । ब्रिटेनमा दोश्रो विश्व युद्धको लागि बनाएको अर्धभूमिगत भवन हाललाई चमेरालाई दिइएको छ । नेपालमा पनि विभिन्न संघसंस्थाहरु यो जीवको संरक्षण गर्न लागिपरेका छन् ।

[email protected]

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३