प्रकाशित : १७ चैत्र २०७६, सोमबार १६:२४


विराटनगर, १७ चैत । नेपाल सरकारले प्रदेश नं. १ सरकारलाई स्वास्थ्य सामाग्री पठाएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नेपाल सरकारले पठाएको हो । व्यक्तिगत सुरक्षा उपकरण प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ग्रहण गर्नुभएको थियो ।
सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा पीपीई पठाईने उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले सेनिटाइजर, मास्क लगायतका सामाग्री गाडी मार्फत पठाएकाले भोली मात्रै आईपुग्ने मन्त्री घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार आज प्राप्त भएको पीपीई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ सय ५०, कोशी अस्पताललाई १ सय ५०, कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई २ सय थान र मेची अस्पताललाई ४६ थान वितरण गरिने छ ।
सामाजिक विकास मन्त्री घिमिरले मोरङ जिल्लालाई ३४, सुनसरीलाई २४, धनकुटालाई १४, तेह्रथुमलाई १२, संखुवासभालाई २०, भोजपुरलाई १८, सोलुखुम्वुलाई १६, उदयपुरलाई १६, खोटाङलाई २०, झापालाई ३०, पाँचथरलाई १६, ताप्लेजुङलाई १८, इलामलाई २०, ओखलढुङ्गालाई २० वटाका दरले स्वास्थ्य कार्यालय मार्फत वितरण गरिने छ ।
स्वास्थ्यकर्मीहरुको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेकाले स्वास्थ्यकर्मीका लागि चाहिने स्वास्थ्य सुरक्षाका सवै उपकरणहरु सरकारले प्रवन्ध गर्ने विश्वास दिलाउनु भयो ।
स्वास्थ्य उपकरण आइतबार चीनको गोञ्जाओबाट नेपाल ल्याइएको थियो ।