प्रकाशित : १६ फाल्गुन २०७६, शुक्रबार १७:५२

विराटनगर, १६ फागुन । मोरंगको ग्रामथानमा स्नातकोत्तर तहको पठन पाठनका लागि तयारी शुरु गरिएको छ । स्नातक तह सम्मको पठन पाठन हुँदै आएको ग्रामथान ६ धनिबनिगाउँको पब्लिक क्याम्पसमा स्नातकोत्तर तहको पनि पठन पाठन शुरु गर्नका लागि तयारी थालिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा २०५९ सालदेखि शिक्षा शास्त्र संकायमा स्नातक पठन पाठन शुरु गरेको पब्लिक क्याम्पसले २०६५ सालदेखि बाणिज्य शास्त्र संकायको स्नातक शुरु गरेको थियो ।

क्याम्पसवाट स्नातक तह पार गरिसकेपछि स्नातकोत्तर तह अध्ययनका लागि विराटनगर, सुन्दरहरैचा धाउनु पर्ने भएकालागि गाउँमा पठन पाठनका लागि व्यवस्था मिलाउन लागिएको प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले बताउनुभयो । सोही क्षेत्रका जनप्रतिनिधि समेत रहनु भएका मन्त्री विश्वासले स्नातकोत्तरको पनि पठन पाठनलागि भौतिक पूर्वाधार लगायतका संरचनामा जोड दिएको बताउनुभयो । क्याम्पस परिसरमा निर्माण शुरु गर्न लागिएको ६ कोठे भवनको आज शिलान्यास गर्दै मन्त्री विश्वासले पब्लिक क्याम्पसमा स्नातकोत्तर चाँडै शुरु गर्ने गरि तयारी थालिएको बताउनुभयो ।

करिव १ करोड लागतमा भवन निर्माण शुरु गरिएको क्याम्पस प्रमुख झमकबहादुर दाहालले बताउनुभयो । मोरंग क्षेत्र नं. ४ पूर्वाधार विकास कोषबाट भवन निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । कोषबाट तत्कालका लागि ५० लाख रुपैयाँ प्राप्त भएको प्रमुख दाहालले बताउनुभयो ।

दुई संकायमा गरि ४ सय ९६ विद्यार्थी अध्ययनरत सो क्याम्पसमा भौतिक पूर्वाधारको अभाव रहेको क्याम्पस प्रमुख दाहालले बताउनुभयो । उहाँका अनुशार क्याम्पसमा कटहरी, सुन्दहरैचा र बुढीगंगाका विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पसका शिक्षक नरेन्द्र बस्नेतले पबिलक क्याम्पसका कारण ग्रामिण भेगका विद्यार्थीलाई पठन पाठनमा सहज भएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३