प्रकाशित : २९ माघ २०७६, बुधबार १४:००

विराटनगर २९ माघ । नेपाल प्रहरीका नवनियुक्त आईजीपी (महानिरीक्षक) ठाकुरप्रसाद ज्ञवाली डीआईजी (नायव महानिरीक्षक) हुँदा झन्डै साढे ८ महिना प्रदेश १ को प्रहरी प्रमुखका रुपमा रहेर काम गर्नुभयो ।

गत असार ८ गते प्रदेश प्रहरी प्रमुख भएर विराटनगर आएका उनको कार्यकाल विवादरहित ढंगले नै सकियो । विवादरहित र सफल कार्य सम्पादन गरेका उनै ज्ञवालीलाई नेपाल सरकारले मंगलबार नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा निर्विकल्प र विवादरहित ढंगले नियुक्त गर्यो ।

डीआईजीसम्मको यात्रामा आर्थिक लगायत कुनै पनि खाले विवादमा उनी तानिएनन् । कुशलतापूर्वक नेत्रृत्व सम्हाल्न सक्ने क्षमत, कार्यदक्षता र अनुसन्धानमा उत्कृष्ट रहेकै कारण ज्ञवाली नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएको प्रहरी स्रोतले बतायो ।

उनी प्रदेश १ को डीआईजी हुँदा अपराध अनुसन्धान, नियन्त्रण र समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन प्रहरीको महत्वपूर्ण भूमिका रहयो । नागरिक मैत्री प्रहरी कार्यक्रमलाई प्राथमिकता, सडक सुशासन, सार्वजनिक सवारी साधनमा ‘टाइम कार्ड’ लागू उहाँकै कार्यकालमा भए ।

ज्ञवालीको कार्यकालमा सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका गतिविधी नियन्त्रण एवं नेता कार्यकर्ता पक्राउ, जघन्य प्रकृतिका अपराध अनुसन्धान र अवैध रुपमा विभिन्न जिल्लामा लगाइएका गाँजा खेती नष्ट तथा नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गरेर प्रहरीले महत्वपूर्ण उपलब्धी हाँसिल गर्यो ।

चालु आर्थिक वर्षको पुससम्म विप्लव समूहमा आवद्ध प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्जसहित ८६ जना नेता कार्यकर्तालाई पक्राउ गरेर प्रहरीले कारबाहीको दायरामा ल्याएको थियो ।

उनीहरु विरुद्ध चन्दा ऐन, राज्यविरुद्धको कसूर, बम विष्फोट, सांगठनिक अपराध, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासम्बन्धी कसूर, हातहतियार तथा खरखजाना लगायतका विभिन्न मुद्दा चलाइएको छ । प्रहरीले पक्राउ गरेकामध्ये २१ जना हिरासतमा छन् । १४ जना धरौटी बुझाउन नसकेर र १४ जना पुर्पक्षका लागि गरेर २८ जना कारागार चलान भएका छन् ।

ज्ञवाली प्रदेश प्रहरी प्रमुख रहँदा विशेष गरेर विप्लव समूहको ‘सैनिक संरचना’ बनाउने अभियानलाई प्रहरीले निस्तेज गरिदियो । डीआईजीको मातहतमा रहने क्षेत्रीय अनुसन्धान समूह (रिट) कै सक्रियता र विशेष अप्रेशनका कारण विप्लव समूहले प्रयोग गर्ने अत्याधुनिक हतियार र विष्फोटक पदार्थ प्रहरीले ठाउँ–ठाउँबाट बरामद गरेको थियो ।

लागुऔषध गाँजाको अवैध खेती नष्ट गर्न ज्ञवालीले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएका थिए । अभियानका क्रममा एक लाख ८७ हजार तीन सय ९० वटा गाँजाका बोट प्रहरीले नष्ट गर्यो । प्रदेश १ बाट गाँजा चीन र भारतसम्म पुग्ने गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा गुड्ने सार्वजनिक यात्रुबहाक सवारी साधनमाथि ‘टाइम कार्ड’ ज्ञवालीले लागू गर्नुभयो ।

सडकमा र पार्किङ निषेध गरिएका क्षेत्रमा राखिएका सवारी साधनमा ‘ह्वील लक’ गर्नेदेखि उत्कृष्ट सवारी चालकलाई सम्मान गर्ने महत्वपूर्ण कार्यक्रम उहाँकै पालामा सुरु भए ।

४० वर्ष पुराना प्रहरीका भवनहरु नयाँ र अत्याधुनिक भवनमा रुपान्तरण हुनुलाई ज्ञावलीको कार्यकालको महत्वपूर्ण उपलब्धीका रुपमा लिइएको छ । जसमा १३ वटा भवन निर्माण भइसकेका छन् भने ७२ वटा निर्माणाधिन अवस्थामा छन् । समुदाय–प्रहरी साझेदारी लगायतका नागरिक मैत्री कार्यक्रमलाई ज्ञवालीले प्राथमिकता दिएकै कारण प्रहरी र नागरिकबीचको सम्बन्ध थप मजवुत बनेर गएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३