प्रकाशित : २८ माघ २०७६, मंगलवार १८:५७

विराटनगर, २८ माघ । भारतको नयाँ दिल्ली हुँदै घरेलु कामदारका रुपमा कुवेत लैजान खोजिएका दुई युवतीलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट उद्धार गरिएको छ । प्रहरी र आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिले भारतको जोगवनी बजार पुर्याउँनै लाग्दा सिन्धुपाल्चोक घर भएका २० र २२ वर्षीया तामाङ थरका युवतीको उद्धार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले समयमै उद्धार गरिएका कारण दुई नेपाली चेली अवैध बाटो हुँदै कुवेत पुग्नबाट जोगिएको बताउनु भयो । महिलालाई घरेलु कामदारका रुपमा कुवेत लैजान प्रतिबन्ध लगाइएको छ । थापाले सिन्धुपाल्चोकका अर्जुन तामाङले कुवेत पठाउने भन्दै काठमाडौं बोलाएर दुवै जनाको राहदानी बनाइदिएको खुलेको बताउनु भयो ।

तामाङ र विराटनगर–५ का राजुप्रसाद रिजालबीच युवतीहरुलाई जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली हुँदै कुवेत पुर्याउने योजना बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्सपेक्टर थापाको भनाइ छ । त्यही योजनाअनुसार काठमाडौंबाट माघ २१ मा बस चढेर आएका युवतीलाई रिजालले विराटनगरमा सम्पर्क गरेका थिए ।

रिजालले उनीहरुलाई विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मीसँग पनि भेट गराए । युवतीहरुलाई कोही कसैले सोधेमा विराटनगरमा बिरामी रहेका आफन्तलाई भेट्न आएको र किनमेलका लागि जोगवनी गएको भनेर भन्न सिकाइएको थियो । योजनाअनुसार कुर्मी युवतीलाई साथमा लिएर रानीतर्फ जाने बस चढे र रिजाल युवतीका सामान तथा पासपोर्टसहितको झोला मोटरसाइकलमा राखेर जोगवनीतिर लागे ।

भन्सारको ढाटमा युवतीहरुमाथि सोधपुछ हुन थालेपछि रिजाल त्यहीँबाट फरार भएको र कुर्मी पक्राउ परेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको बहानामा प्रलोभनमा पार्दै झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भनेर युवतीहरुले तामाङ, रिजाल र कुर्मी विरुद्ध किटानी जाहेरी दिएका छन् । तामाङ र रिजाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले नजाएको छ । पक्राउ परेका कुर्मी विरुद्ध मानव बेचबिखन मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

उद्धार गरिएका युवतीलाई आफन्त नेपालकै संरक्षणमा राखिएको छ । कुवेतमा खान र बस्न दिएर मासिक नेपाली ३० हजार रुपैयाँ भन्दा बढी कमाई हुने तथा खाना पकाउने, बच्चा हेर्ने, घर सफा गर्ने र बच्चालाई स्कुल पुर्याउने काम गर्नु पर्ने आफूहरुलाई भनिएको एक युवतीले बताइन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३