प्रकाशित : २२ माघ २०७६, बुधबार १८:५०


विराटनगर २२ माघ । विराटनगरमा दुई दिने राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, वनस्पति समाज नेपाल काडमाण्डौ र नेपाल जैविक समाज बिराटनगरको संयुक्त आयोजनामा माघ २३ र २४ गते दुई दिन राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सम्मेलनमा देशभरीबाट करिव ३ सय युवा वैज्ञानिक, अनुसन्धानकर्ता र निति निर्माताहरुको सहभागीता रहने सम्मेलन आयोजक समितिका संयोजक प्राध्यापक डाक्टर मोहन शिवाकोटीले बताउनु भयो । सम्मेलनमा नेपालका अतिरिक्त भारत र वंगलादेशबाट पनि वैज्ञानिकहरुको सहभागतिा रहने शिवाकोटीले जानकारी दिनुभयो ।
सम्मेलनमा समसामयिक विज्ञान प्रविधिका क्षेत्रहरु वन, वनस्पति, प्राणी, वन्यजन्तु, पारिस्थितिक पद्धति लगायतका विषयमा भएका अध्ययन अनुसन्धानहरुलाई सार्वजनिक गर्नुका साथै जलवायु परिवर्तन, वनस्पती, वातावरणीय समस्याका पहिचान तथा जडिबुटी सम्बन्धि छलफल गरीने बताईएको छ ।
कार्यक्रममा २ सय १५ वटा अनुसन्धानात्मक विवरणका कार्यपत्रहरु प्रस्तुत हुने बताईएको छ ।