प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार २१:११

विराटनगर ९ माघ । बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ ।

तीन लाख रुपैयाँ धरौटी लिएर छाड्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते दिएको आदेश बदर गर्दै उच्चले जवरजस्ती करणी मुद्दामा थुनामा राख्न आदेश दिएको हो ।

उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । उक्त आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।

उच्च अदालतबाट जिल्लाको आदेश बदर गरी सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । उच्चको आदेशपछि जिल्लाले दिएको आदेश बदर भएको उनले बताए ।

उच्च अदालत विराटनगरमा आफू विरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका सिद्धबाबा भने बिहीबार दिउँसो भारततिर लागेका छन् । सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ हिँंडेका हुन् । सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् ।

केही समर्थक र अयुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए । अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेका हुन् । जतिबेला उनी विरुद्धको मुद्दाको सुनुवाई अदालतमा जारी थियो ।

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो । सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसकै ‘फलोअप’का लागि फेरि गएको उनी निकट स्रोतले बतायो । उनी भारततर्फ जानुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला अदालतको आदेश पनि उनी अनुकूल आएन ।

स्रोतकाअनुसार सुनुवाईपछि आउने अदालतको आदेशको पर्खाइमा उनी थिए । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर ‘सुटुक्क’ लागेको बताइएको छ । स्रोतकाअनुसार आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेका थिए ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा अस्पतालमै गुजारेपछि प्रहरी हिरासत बस्न परेन ।

उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए । अवस्था गम्भीर बनेको भन्दै उनलाई आईसीयूमा पनि भर्ना गरियो ।

प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट म्याद थप गर्दै घटनाको अनुसन्धान अघि बढाएको थियो । उनलाई अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार गरेका थिए । अस्पतालबाट पुस २० गते डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममै पुगेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३