प्रकाशित : ६ माघ २०७६, सोमबार १८:३७

विराटनगर, ६ माघ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित सुकेआहालमा फेला परेको बम नेपाली सेनाको टोलीले दिउँसो डिस्पोज गरेको छ ।

कालो प्लाष्टिकले बेरिएको पोको भित्रबाट तार जोडर बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि जनजीवन आतंकित बनेको थियो । सिल्भरको भाँडा भित्र बारुद र अन्य विष्फोटक पदार्थ प्रयोग गरेर बम जस्तै बनाइएको उक्त वस्तु ‘इम्प्लोभ्वाइज डिभाइस’ भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । उहाँका अनुसार घटनास्थलमा भेटिएका दुईवटा डेटोनेटर र केही विष्फोटक पदार्थ परीक्षणका लागि सेनाले लगेको छ ।

सुकेआहालमा गयराति बम विष्फोट भएका तीनवटा ठूला आवाजले आतंकित बनेका स्थानीय बासिन्दाबीच भागदौड मच्चिएको मिक्लाजुङ–१ का वडाध्यक्ष नरबहादुर राईले बताउनु भयो । उहाँका अनुसार विष्फोटसँगै मोरङको किसान चोक–रमिते–आइतबारे सडकको काममा प्रयोग गरिरहेका तीनवटा एक्साभेटरमा राति ९ बजे आगजनी गरिएको थियो ।

चारवटा ड्रममा राखिएको डिजेल छर्किएर एक्साभेटरमा आगजनी गरेको पाइएको उहाँले बताउनु भयो । सडक निर्माण गर्ने ठकेदारसँग नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा माग गरिएको खुलेको बताउँदै प्रहरीले नदिएका कारण घटना गराएको हुन सक्ने आशंका गरेको छ । घटना गराउनेको पहिचान भइनसकेको खोजी तीव्र पारेर सबै कोणबाट विशेष ढंगले अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनु भयो । उहाँले घटनास्थलमा बम विष्फोट गराएको कुनै प्रमाणहरु भने फेला नपरेको बताउनु भयो ।

प्रदेश १ का सांसदहरु कुशल साम्बा र उपेन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी मदन भुजेल र प्रहरी प्रमुख एसपी अधिकारी आज घटनास्थलमै पुग्नु भयो । एसपी अधिकारीका अनुसार आगजनीबाट को १ क ३०३० नम्बर र अरु दुईवटा लिकङ् ९२२ र क्याट ३२० लेखिएका अनटेस्ट एक्साभेटरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

विष्फोट कसले र किन गराएको भन्ने यकिन नभएको उहाँको भनाइ छ । त्यहाँ पछिल्लो समय विप्लव समूहको गतिविधि धेरै भइरहेको स्थानीयबासीले बताएका छन् । उत्तरी मोरङ तत्कालिन सशस्त्र युद्धमा पनि माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा समेत चिनिन्छ । प्रदेश १ सरकारको ५८ करोड लगानीमा शर्मा–भीमेश्वर जेभी कन्सट्रक्सनले मोरङको किसान चोक–रमिते–आइतबारे १८.५ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रेको काम गत मंसिर २३ गतेदेखि थालेको थियो ।

दुई वर्ष भित्रमा काम सम्पन्न गर्नु पर्ने सडकमा ६ वटा एक्साभेटर प्रयोग गरिएकोमा तीनवटामा आगजनी गरेर पूर्ण रुपमा क्षति पुर्याइएको छ । कन्सट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्काले कामै नलाग्ने गरी एस्काभेटर जलाइएको बताउनु भयो ।

घटनापछि मेसिन चलाउने, नाला र कल्भर्ट बनाउने तथा ग्याबिन र पर्खाल लगाउने लगायतमा परिचालन गरिएका तीन सय कामदारहरु छाडेर हिँडेपछि सडकको काम रोकिएको जानकारी खड्काले दिनु भयो ।

सरकारले सुरक्षाको ग्यारेन्टी नगरेसम्म रोकिएको काम सुचारु गर्ने वातावरण नबन्ने उहाँको भनाइ छ । खड्काले आगजनीका कारण तीन करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताउनु भयो ।

काम सुरु भएको केही दिनमा ‘विप्लव’ समूहले आफूसँग चन्दा चैं मागेको खड्काले बताउनु भयो । राज्यले अनुसन्धान गरेर यति ठूलो घटना कसले र किन गराएको भन्ने कुरा पत्ता लगाउनु पर्ने माग उहाँको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३