प्रकाशित : ५ माघ २०७६, आईतवार १७:४२


विराटनगर, ५ माघ । विराटनगरलाई सौन्दर्यीकरण गर्न बिजुलीको पोलमा फूलसहितको गमला र डस्टविन राख्ने अभियान सुरु भएको छ । विराटनगर महानगरपालिका र रोटरी क्बल अफ विराटनगर डाउन टाउनको संयुक्त आयोजनामा अभियानको थलानी भएको हो ।
अभियान अन्र्तगत विराटनगर तीनपैनी देखि ट्राफिक चौक सम्मका सडकको दायाँ तर्फका ९० वटा विजुलीका पोलमा फूलसहितको गमला र डस्टविन राखिने छ । सहरको सौन्दर्य बढाउन बिजुलीको पोलमा स्टेण्ड सहितको गमला राख्ने अभियानको महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुभराम्भ गर्नुभयो ।
अभियान अन्र्तगतको पहिलो दिन आज विराटनगर महानगरपालिका प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र रोटरी क्लबका गभर्नर किरणलाल श्रेष्ठले संयुक्त रूपमा बिजुलीको पोलमा फूलसहितको गमला राखेर अभियानको उद्घाटन गर्नुभयो ।
एउटा पोलमा दुईवटा गमला र अर्को पोलम डस्विन राखिने रोटरी डाउन टाउनकी अध्यक्ष अर्चना तापडियाले बताउनुभयो । उहाँका अनुसार अभियान अन्र्तगत करिव एक साता भित्रमा ९० वटै विजुलीका पोलमा गमला र डस्टविन राखिने छ ।
बिजुलीको पोलमा राखिएको फुल सहितको गमलाको संरक्षणका लागि नगरपालिका र रोटरी क्लवको सहभागितामा संरक्षण समिति गठन गरिने महानगर प्रमुख पराजुलीले बताउनुभयो । उहाँले विजुलीका पोलमा राखिने डस्वीन बालमैत्री हुने बताउनुभयो ।
रोटरी डाउन टाउनकी अध्यक्ष अर्चना तापडियाले विराटनगरलाई सुुन्दर बनाउने अभियान अन्तर्गत महानगरसँग सहकार्य गरिएको बताउनु भयो । ९० वटा बिजुलीको पोलमा फूलसहितको गमला र डस्टविन राख्नका लागि करिव २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम संयोजक रचना राठीले रोटरीले समाजमा नागरिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।