प्रकाशित : २ माघ २०७६, बिहीबार १७:४१

विराटनगर, २ माघ । उच्च अदालत विराटनगरमा आज हुने तय भएको सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी विरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ ।

कायम मुकायम मुख्य न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा सुनुवाईका लागि मुद्दाको पेसी तोकिएको थियो । पीडित पक्षकै निवेदनका आधारमा मुद्दाको सुनुवाई आगामी बिहीबारलाई सरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताउनु भयो ।

मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दा चलाएको थियो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यही मुद्दा उच्चमा पुगेको छ ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो । यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन् ।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाईका लागि मुद्दा लगाउमा राख्न आदेश दिनु भएको थियो । न्यायाधीश श्रेष्ठ भने मंगलबारदेखि विदामा हुनु हुन्छ । सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गरिनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि आज मौन प्रदर्शन गरेर धर्ना दिइएको छ ।

अदालतबाट थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै पीडितका तर्फबाट धर्ना दिइएको हो । धर्नामा सहभागीले हात–हातमा पीडितका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए । धर्नामा महिला, गैरसरकारी संस्थाकर्मी तथा मानवअधिकारकर्मीहरु सहभागी बने ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३