प्रकाशित : २७ पुष २०७६, आईतवार १९:३९


विराटनगर, २७ पुस । प्रदेश नं. १ का सामुदायिक विद्यालय ५ वर्ष भित्रमा झोला मुक्त हुने भएका छन् । प्रदेश सरकारले १० वर्ष भित्रमा झोला मुक्त बनाउने बताएपनि अहिले सम्मको अवस्थालाई हेर्दा ५ वर्ष भित्रमै लक्ष्यमा पुग्ने सकिने देखिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
प्रविधि मैत्री शिक्षा समाज नेपालले आज विराटनगरमा आयोजना गरेको राष्ट्रिय डिजिटल सामाग्री प्रदर्शनी कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सामुदायिक विद्यालय धमाधम प्रविधिमैत्री बन्दै गएको बताउनुभयो ।
मन्त्री भएर पदभार ग्रहण गर्दा आफुले उद्घोष गरेको झोलामुक्त बनाउने अभियानमा धेरैले विश्वास नगरेको उहाँले स्मरण गर्नुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ धेरैले मेरो कुरा पनि काटे, तर मेरो निरन्तरको काम गराईले १० हैन ५ वर्ष भित्रमै संभव हुने देखियो ।’
विद्यालयलाई समाजको केन्द्रको थलोका रुपमा विकास गर्नुपर्नेमा मन्त्री घिमिरेले जोड दिनुभयो । उहाँले भन्नुभयो,‘विद्यालय बालबालिकाको मात्र भनेर बुझ्नु भएन ।’ समाज र विद्यालयलाई जोड्ने दर्बिलो माध्यम आमा समूह भएको मन्त्री घिमिरेले बताउनुभयो । शिक्षकलाई भत्ता र भात भन्दा पनि उत्प्रेरणा आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव वीरवहादुर राईले स्थानीय तहसंगको साझेदारीमा डिजिटल साक्षरता सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षाको अध्ययन अध्यापनलाई विद्युतीय प्रणालीमा आबद्ध गरिने र सबै स्थानीय तहलाई इन्टरनेट सेवाको दायरामा ल्याइने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले गत वर्ष प्रत्येक स्थानीय तहमा कम्तीमा २ वटा माध्यमिक विद्यालयमा सूचना प्रविधि ल्याब निर्माण गरेको सचिव राईले बताउनुभयो ।
प्रदेश नं. १ मा सामुदायिक विद्यालयको संख्या ५ हजार ६ सय ५८ रहेको छ । यस मध्ये मन्त्रालयले गत वर्ष आधारभुत तहका ६ सय ८६ वटा विद्यालयमा कम्प्युटर वितरण गरेको थियो । कक्षा ९ देखि १२ सम्मका २ सय ७४ विद्यालयले आईटी ल्याव बनाएको सचिव राईले बताउनुभयो ।