प्रकाशित : २४ पुष २०७६, बिहीबार १८:२१

विराटनगर, २४ पुस । बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई अभियुक्त बनाइएको जवरजस्ती करणी मुद्दा उच्च अदालत विराटनगरले लगाउमा राखेको छ ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि उनीमाथि सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

यही मुद्दामा उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न पुस १४ गते आदेश दिइसकेको छ ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो । निवेदनमा बेरितको आदेश बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि गत मंगलबार उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन् ।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा लगाउमा राख्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिनु भयो ।

मुद्दा एउटा र पक्ष विपक्ष दुईवटा भएकाले सँगै राखेर सुनुवाई गर्नु पर्ने भएपछि मुद्दा लगाउमा राखिएको उहाँको भनाइ छ । मुद्दाको पेसी आगामी बिहीबारका लागि चढेकाले लगाउमा राखिएको मुद्दाको सुनुवाई त्यही दिन हुने उहाँले बताउनु भयो ।

मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ । बलात्कार आरोपको अनुसन्धान अवधि विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा विताएका सिद्धबाबाले गत आइतबार मात्रै डिस्चार्ज भएपछि अस्पताल छाडेका थिए ।

बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै उनी मंसिर १२ गतेबाट अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनी डिस्चार्जपछि चतरा धाममै फर्किएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३