प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार १७:४४

विराटनगर, २४ पुस । भारतले बथनाहस्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै त्यहाँबाट मालबहाक ढुवानी साधन आवतजावत आज बिहानैबाट एकतर्फी रुपमा पुन बन्द गराएको छ । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ ।

यो पुल हुँदै भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ लगायत विभिन्न वस्तुहरु आयात हुन्छ । भारतले यस अघि नै पुल १२ दिनका लागि बन्द गरिने घोषणा गरेको थियो । मर्मत सकेर माघ ६ गतेबाट पुल सञ्चालन गर्न अनुमति दिइने भारतीय पक्षलाई उधृत गर्दै विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

भारतले यस अघि पनि मर्मतको बहाना बनाएर पुस ३ देखि ११ गतेसम्म पुल बन्द गराएको थियो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले भारतले पुलबाट हुने आयात निर्यात बन्द गरेपछि विकल्पका रुपमा वीरपुर–भण्टाबारी नाका प्रयोग गरिने बताउनु भयो । उहाँकाअनुसार पुल बन्द हुनजेलसम्म यो नाका हुँदै तेस्रो मुलुकबाट आएका मालबहाक सवारी साधन नेपाल प्रवेश गर्नेछन् । तेस्रो मुलुकबाट आयात भएका सामानलाई वीरपुर–भाण्टाबारी रुट प्रयोग गर्न दिने तर भारतबाटै आएका मालबहाक सवारी साधनलाई भने जान नदिने अडानमा भारतीय पक्ष रहेको बताइएको छ ।

भारतबाट औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामाग्री नेपालतर्फ आयात हुन्छ । ११ दिनसम्म पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न नदिने हो भने निजी क्षेत्रलाई ठूलो असर पर्ने उद्योगी बताउँछन् । २०७४ साल साउनको बाढीले पुल क्षतिग्रस्त बनाएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन ८ महिना बढी समय लागेको थियो ।

मीरगञ्ज पुल अवरुद्ध हुँदा त्यतिबेला सुनसरीको वीरपुर, भण्टाबारी नाकाबाट रिरुट गरेर मालबहाक सवारी साधन नेपाल भित्राइएको थियो । विराटनगर भन्सार कार्यालयले दैनिक करिब १५ करोड राजस्व संकलन गर्दै आएको छ । पुल मर्मत अवधिभर राजस्व संकलनमा प्रभाव पर्ने भन्सारले जनाएको छ । भारत तथा तेस्रो मुलुकबाट सामान लोड भएर आएका तीन सय बढी मालबहाक सवारी साधन जोगवनी नाका हुँदै दैनिक प्रवेश गर्ने गरेका थिए ।

भारतले यस अघि पनि पुलबाट ४० मेट्रिकटन भन्दा कम भारका मालबहाक सवारी साधन मात्र प्रवेश गर्न दिने गरेको थियो ।

पुलको कारण पटक–पटक समस्या खेप्नुपर्ने अवस्था आएकोले प्रदेश १ का उद्योगी व्यवसायीले यो समस्याको दीर्घकालीन समाधान खोज्नु पर्ने माग गर्दै आएका छन् । उनीहरुले पुल मर्मत लगायतका बहानामा भारतीय पक्षले नाका बन्दीकै शैली अपनाएर मालबहाक सवारी साधन आवतजावतमा रोक लगाउने गरेको गुनासो गरेकाछन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३