प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार १७:३८

विराटनगर, २४ पुस । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन (मेसु) डा. गुणराज लोहनीलाई कामकाजका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुरुवा गरिएको छ ।

अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेको पाँच महिनामै उहाँलाई मन्त्रालय लगिएपछि उहाँले आज विराटनगर छाड्नु भएको छ । कामकाजका लागि भन्दै पुस २१ गतेको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयमा लैजाने निर्णय गरिएका लोहनीको तत्काल दरबन्दी भने कोशी अस्पतालमै रहने छ । उहाँको ठाउँमा कसैलाई पनि मेसु बनाएर पठाइएको छैन ।

स्वास्थ्य विभागको पूर्व महानिर्देशक लोहनीलाई साउन दोस्रो साता कोशीको मेसु बनाएर पठाइए पनि उहाँले भदौ १ गतेदेखि अस्पतालमा हाजिर भएर काम सुरु गर्नु भएको थियो । छोटै समयमा प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताललाई सुधारको बाटोतर्फ डोहोर्याउँदै लगेका लोहनीलाई मन्त्रालय बोलाइनुलाई ‘अस्वभाविक’ मानिएको छ ।

अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकी मेसुका रुपमा लोहनी आएपछि अस्पतालमा सुधारका धेरै कामहरु भएको बताउनु हुन्छ । अस्पतालको सफाईमा लोहनी आफै हातमा झाडु लिएर दैनिक खटिनुहुन्थ्यो । अस्पतालमा ढलको उचित निकासको व्यवस्था मिलाउनु भएको थियो । सधैंजसो फोहोर र दुर्गन्धित हुने अस्पताल लोहनी मेसु बनेर आएपछि सफासुग्घर भएको छ ।

अस्पतालको ल्याब व्यवस्थित गर्ने, बिजुली नियमित गराउने, बन्द रहेका विभिन्न खालका शल्यक्रिया सूचारु गराउने, बिरामीलाई ओपीडी पूर्जा काट्न अलग–अलग काउण्टरको व्यवस्था मिलाउने, अस्पतालका चिकित्सकलाई नियमित गराउने, कर्मचारी तथा चिकित्सकलाई सेवाग्राहीसँग हाँसेर सेवा प्रदान गर्नुपर्छ भनेर प्रेरित गर्ने, सरकारले विपन्नका लागि व्यवस्था गरेको निःशुल्क उपचारमा वडा कार्यालयको सिफारिस अनिवार्य गराउने लगायत अस्पताल सुधारका धेरै काम उहाँका पालामा भएका छन् । पछिल्लो समय अस्पतालमा सरसफाई र सेवा प्रवाह एवं सेवाको गुणस्तर सुधारका धेरै काम भएका थिए ।

लोहनीले १० बजेपछि अस्पताल आउने कर्मचारीलाई हाजिर गर्न रोक लगाउनु भएको थियो । सबै चिकित्सकले प्रत्येक दिन बिहान ९ः३० बजे अनिवार्य अस्पताल आएर बिरामीको उपचारमा लाग्नु पर्ने नियम बनाइदिनु भएको थियो ।

मेसु लोहनीले पूरै समय अस्पताल नबस्ने र निजी क्लिनिकमा धाउने चिकित्सकलाई कारबाहीको दायरामा ल्याउँदै अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय र भरपर्दो बनाउँदै लगेको एक कर्मचारीले बताए ।

चिकित्सकलाई नियमित उपस्थित र कार्यालय समय भरी अस्पतालमै बस्ने गरी सामूहिक प्रतिवद्धता गराएपछि लोहनीसँग निजी क्लिनिक र अस्पतालमा आवद्ध केही चिकित्सक तथा कर्मचारी असन्तुष्ट बनेका थिए ।

डा. लोहनीले आफूले सरकारले गरेको निर्णयलाई सहर्ष स्वीकार गर्ने बताउनु भयो । मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले मन्त्रालयमा ‘पोलिसी मेकर’ चाहिएकाले लोहनीलाई तानिएको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३