प्रकाशित : २३ पुष २०७६, बुधबार १७:४१

विराटनगर, २३ पुस । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गरेर चोरीमा संलग्न गिरोहलाई पक्रन विशेष एवं नौलो अभियान सुरु गरेको छ ।

अभियानलाई ‘अप्रेशन ट्रयाप’ नाम दिइएको छ । प्रदेश राजधानी विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरी हुने क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन खोज्न विशेष अप्रेशन चलाएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा संलग्नलाई ट्रयापमा पारेर नियन्त्रणमा लिने अप्रेशनको मुख्य उदेश्य रहेको बताउनु भयो । यसरी ट्रयापमा पार्न प्रहरीले विराटनगर र आसपासका दुई दर्जन बढी ठाउँमा एकै पटक चेक पोइन्ट खडा गरेर सवारी साधनमाथि चेकजाँच बढाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाइकल र स्कुटर चोरीका ४१ वटा उजुरी परेका छन् । जसमा हालसम्म २२ वटा फेला पारेर सम्बन्धीत धनीलाई बुझाइसकिएको छ ।

विराटनगर १० का सन्दीप अग्रवालको पुस १७ गते चोरी भएको यमाहा कम्पनी को २३ प १८० नम्बरको मोटसाइकल प्रहरीले विराटनगर ४ नोबेल अस्पताल नजिकैको नहरबाट फेला पारेको छ । त्यस्तै मोरङको ग्रामथान गाउँपालिका १ का जितेन्द्रकुमार माझीको पुस ११ गते चोरी भएकोे यमाह कम्पनीको एफजेट ना ३६ प १११५ नम्बरको मोटरसाइकल पनि प्रहरीले विराटनगर १४ जतुवास्थित नहरको डिलमा भेट्टाएको छ ।

यस अघि चोरी भएका दुवै मोटरसाइकल फेला पारेर प्रहरीले आज सम्बन्धीत धनीलाई बुझाएको छ । विशेष अभियान सञ्चालनपछि यस अघि चोरी भएका मोटरसाइकल धमाधम भेटिन थालेको एसपी अधिकारीले बताउनु भयो । उहाँले ‘अप्रेशन ट्रयाप’ अभियान सञ्चालन गरिएपछि प्रहरीलाई छल्न नसक्दा चोरीमा संलग्न मोटरसाइकल त्यत्तिकै छाडेर भाग्ने गरेको जानकारी दिनु भयो । उहाँका अनुसार चोरी भएर हराएका मोटरसाइकल र स्कुटरका इन्जिन खोलीएको अवस्थामा समेत बरामद गरिएको छ ।

चोरी भएको सवारी साधनको खोजी कार्य र गिरोहलाई पक्राउ गर्न मोरङ प्रहरीले सादा पोशाकमा पनि प्रहरी परिचालन गरिरहेको एसपी अधिकारीले बताउनु भयो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले ‘अप्रेशन ट्रयाप’कै क्रममा एक घण्टा चलाइएको चेकजाँचमा ब्लुबुक लगायतका आवश्यक कागजपत्र नभएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको बताउनु भयो ।

नियन्त्रणमा लिइएका मध्ये १२ वटा शंकास्पद अवस्थामा छन् । १२ वटा मोटरसाइकलको कागजात फेला नपरेका कारण चोरीको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको राईले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३