प्रकाशित : २२ पुष २०७६, मंगलवार १८:४९

विराटनगर, २२ पुस । आगामी माघ २३ र २४ गते विराटनगरमा एक अन्तर्राष्ट्रिय एकीकृत जीव विज्ञान सम्मेलन आयोजना हुँदैछ । नेपाल सरकार वन मन्त्रालय, प्रदेश सरकार उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय, नेपाल वनस्पति समाज र नेपाल जैविक समाज विराटनगरको संयुक्त आयोजनामा सो सम्मेलन हुने बताइएको छ ।

उक्त सम्मेलनमा नेपाल,भारत,वंगलादेश,भूटानलगायतका देशहरुबाट जीव वैज्ञानिकहरु सहभागी हुने र उनीहरुले आफूले गरेको अनुसन्धानको प्रस्तुतिकरण गर्ने कार्यक्रम तय भएको सम्मेलनका सहसंयोजक प्राडा शिवकुमार राईले जानकारी दिनुभयो । हालसम्म दुई सय वटा अनुुुुसन्धान सारांश प्राप्त भइसकेको जसमध्ये ३० वटा जति पोष्टर प्रस्तुति र बाँकी मौखिक प्रस्तुति हुने आयोजक संस्थाहरुले जनाएका छन् ।

विभिन्न उपसमितिहरु निर्माण गरी सम्मेलनको तयारीमा स्थानीय आयोजक संस्था नेपाल जैविक समाज जुटेको छ । जसअनुसार प्राज्ञिक उपसमितिको नेतृत्व प्राडा तेजनारायण मण्डलले,आर्थिकको प्राडा उमेश कोइरालाले,व्यवस्थापनको राधा अधिकारीले र प्रचार उपसमितिको नेतृत्व रामचन्द्र अधिकारीले सम्हाल्नु भएको छ । मूल आयोजक समिति भने प्राडा मोहन शिवाकोटीको अध्यक्षतामा तेह्र सदस्यीय बनेको छ ।

दुई दिवसीय सो सम्मेलनमा जीव विज्ञान भित्रका चार वटा विषयगत सेसनहरु सञ्चालन हुने प्राज्ञिक उपसमितिका सदस्य कुलप्रसाद लिम्बूले जानकारी दिनुभयो । उहाँले अनुसन्धान सारांशहरुको अध्ययन भइरहेको र मौखिक तथा पोष्टरका लागि छुट्याउने काम भइरहको बताउनुभयो ।

दुई सय जनाको आवासीय व्यवस्थासहितको सम्मेलनमा करिब साढे २२ लाख रुपैयाँ खर्च हुने आर्थिक उपसमितिका संयोजक प्राडा कोइरालाले जनाउनु भएको छ । जीव विज्ञानको क्षेत्रमा कार्यरत विभिन्न आधा दर्जन जति संस्थाले आर्थिक सहयोगको लागि तत्परता देखाएको उहाँले बताउनु भयो ।

सो सम्मेलनले देशको समृद्धिको लागि जीव विज्ञानको योगदान दर्शाउने विश्वास लिइएको छ । वनस्पति,जडीबुटी,प्राणी,सूक्ष्मजीव, वातावरण आदिको क्षेत्रमा भएका अनुसन्धानहरुको विवरण प्रस्तुति हुने भएकोले गर्दा नेपालको समृद्धिका लागि बहुआयामिक योगदानको चर्चा हुनेछ ।

विराटनगरमा यसप्रकारको सम्मेलन पहिलो पटक हुन लागेको हो । नेपाल जैविक समाजले दशकअघि राष्ट्रिय सम्मेलन भने सम्पन्न गरेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३