प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार १७:०३

विराटनगर २२ पुस । छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन् ।

उपचारका लागि भनेर ६ महिना अघि ल्याइएका संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको बास भने अस्पतालमै छ । उपचार खर्च तिर्न नसक्दा उनलाई बाहिर निकाल्न नसकिएको हो । अस्पतालले पनि परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नभएका कारण जीवनलाई डिस्चार्ज गरेर जिम्मा लगाउन नसकिएको जनाएको छ ।

उपचारका क्रममा अस्पतालमा पाँच लाख रुपैयाँ बढी खर्च भएको थियो । औषधि र खाना लगायतको गरेर तीन लाख बढी भइसकेको छ । छोराको उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै उनलाई अस्पतालमै छाडेर तीन महिना अघि घर फर्किएका बुवा गणेश भुजेल अहिलेसम्म फर्किनु भएको छैन ।

अस्पतालका लेखापाल सुवास पोखरेलले अस्पतालले गर्ने छुट दिएर बिरामीलाई डिस्चार्ज गर्न सकिने भए पनि परिवारका सदस्य र आफन्त सम्पर्कमै नभएको बताउनुभयो । उहाँले अस्पताल जतिसक्दो चाँडो जीवनलाई परिवारको जिम्मा लगाउन लागिपरेको जानकारी दिनुभयो ।

जीवन अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा छन् । श्वासप्रश्वासका लागि घाँटीमा पाइप लगाइएको छ । उपचारमा संलग्न अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा गम्भीर लागेको चोटका कारण श्वासप्रश्वास सजिलो होस् भनेर घाँटीको शल्यक्रिया गरेर पाइप राखिएको बताउनुभयो ।

परिवारका सदस्य सम्पर्कमा नहुँदा धेरै अघि शल्यक्रियामार्फत निकाल्नु पर्ने घाँटीको पाइप निकाल्न नपाएको उहाँको भनाइ छ । साहले परिवारका सदस्यको सहमति बिना शल्यक्रिया गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने पनि बताए । तत्काल पाइप ननिकाले संक्रमण भएर स्वास्थ्य सम्बन्धी थप समस्या आउन सक्ने डा. साहको भनाइ छ ।

खेलमैदान बनाउने जिम्मा लिएर काम गरिरहेका बुवा गणेशलाई भेट्न जीवन भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा गाउँका साथीहरु पदम र सुवास कटुवालसँग असार ५ गते पुगेका थिए । पदम र सुवाससँग मझुवावेंसीमै निर्माणाधिन इर्खुवा हाईड्रोपावरका कामदारको झडप पर्यो ।

झडप छुट्याउन गएका जीवनमाथि रड प्रहार गरियो । त्यहीं ढलेका भुजेलको टाउको, छात्ती, पेट र घाँटीमा चोट लाग्यो । गम्भीर अवस्थाका उनलाई उपचारका लागि बुवा गणेशले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै असार ६ गते विराटनगर ल्याइपुर्याएका हुन् । प्रहरीले पनि साथीसँग हाईड्रोपावरका कामदारको झगडा भएपछि छुट्याउने क्रममा रड प्रहार भएको र घटनामा जीवनको दोष नरहेको जनाएको छ ।

घटनामा संलग्न चार जना हाईड्रोपावरका कामदार मोरङको धानपालथान गाउँपालिका ७ का २३ वर्षीय सुशीलकुमार गिरी, १९ वर्षीय प्रल्हाद गिरी, विराटनगर १९ का ३० वर्षीय माधव भनिने सन्तकुमार गिरी र रुद्र गिरी प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दा खेपेर छुटिसकेका छन् । उनीहरु जिल्ला प्रशासनले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते नै छुटिसकेका हुन् ।

भोजपुर प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले घटनालाई लिएर जीवनका परिवारबाट कुनै पनि जाहेरी नपरेका कारण दोषीमाथि अभद्र व्यवहार बाहेक थप कारबाही अघि बढाउन नसकिएको बताउनुभयो ।

घाइतेले पैसा तिर्न नसकेको लगायतका विषयलाई लिएर माघ ३ गते दुवै पक्षलाई बोलाएर छलफल राखिएको र त्यसपछि कसरी अघि बढ्ने भन्ने निस्कर्षमा पुगिने मगरको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३