प्रकाशित : २१ पुष २०७६, सोमबार १७:३२

विराटनगर, २१ पुस । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सबैको साझा मान्छे बनेरै प्रदेशबाट विदा हुने आफ्नो इच्छा व्यक्त गर्नु भएको छ ।

विराटनगरमा आज आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उहाँले सबैलाई बराबरी रुपमा लिएर जानु पर्ने भूमिकामा आफू रहेकाले त्यही अनुसार अघि बढ्ने जानकारी दिनु भयो । सबैसँग समन्वयात्मक भूमिका निर्वाह गर्न नसके आफैलाई आत्माग्लानी उहाँको भनाइ छ । बिचारमा लागेको लेउ पखाल्न गाह्रो हुने भन्दै प्रदेश प्रमुख ‘प्यासी’ले त्यसो हुन नदिइकन सबैको साझा मान्छे भएरै यो प्रदेशबाट फर्कने आफ्नो इच्छा रहेको स्पष्ट पार्नु भएको हो ।

दुई महिना अघि प्रदेश १ को प्रमुख बनेर विराटनगर आउनु भएका उहाँका गण्डकी प्रदेशका बासिन्दा हुनुहुन्छ । सबै कुराले प्रदेश १ भरिपूर्ण र नमुना रहेको ‘प्यासी’को भनाइ छ । ‘प्यासी’ले सञ्चार जगतले आलोचना, प्रशंसा तथा रचनात्मकता प्रदान गरेर राज्यलाई सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले संचारकर्मीले सूचना नबनाए कोही पनि सूचित हुन नसक्ने स्पष्ट पार्नु भयो ।

व्यक्ति भन्दामाथि विधि र नेत्रृत्व भन्दामाथि नीति छ भन्ने कुरा सबै बुझ्न सके मात्रै लोकतन्त्रले आफ्नो ठाउँ लिन सक्ने ‘प्यासी’ को भनाइ छ । विधि र नीतिले नै मुलुकको व्यवस्थाप्रति सबैलाई जवाफदेही बनाउने भन्दै उहाँले त्यसले लोकतन्त्रलाई मजवुत पनि बनाउने उल्लेख गर्नु भयो । मुलुकमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर रक्षा गर्न पनि विधि र नीति नै मुख्य हतियार रहेको प्रदेश प्रमुख ‘प्यासी’को भनाइ छ ।

मुलुकको ध्यान पछिल्लो समय पर्यटन प्रवद्धनमा केन्द्रीत भएको भन्दै उहाँले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै लाग्नुमा जोड दिनु भयो । प्रदेश १ पर्यटन प्रवद्धनका हिसाबले पनि पहिलो नम्बरमै आउनु पर्नेमा उहाँको जोड छ ।

मानव, पृथ्वी र वातावरणमा सकारात्मक प्रभाव पार्न सक्ने दीगो खालको पर्यटन प्रवद्धनमा सबैको ध्यान जान आवश्यक रहेको उहाँले बताउनु भयो । ‘प्यासी’ले शासन लादेर र बजेट लगानी गरेर मात्रै पर्यटन प्रवद्धन नहुने स्पष्ट पार्दै सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्दा त्यसमा सफल हुने उल्लेख गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३