प्रकाशित : १४ पुष २०७६, सोमबार १८:२०

विराटनगर, १४ पुस । बलात्कार आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छुटे लगत्तै अस्पतालमै भर्ना गरिएको छ ।

जिल्ला अदालत सुनसरीले आज तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सिद्धबाबालाई उपचारका लागि भन्दै पुनः विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा ल्याइएको हो ।

सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उजुरी दिएपछि प्रहरीले उनी विरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै मंसिर १२ गतेबाट कृष्णबहादुर अस्पताल भर्ना हुनु भएको थियो । अवस्था गम्भीर बनेको भन्दै उहाँलाई आईसीयूमा पनि भर्ना गरियो ।

प्रहरीले आईसीयूदेखि नै पक्राउ गरेर अदालतबाट मंसिर १६ गते पहिलो पटक म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अदालतबाट अनुसन्धानका लागि चार पटकसम्म म्याद थप गरे पनि उनको अनुसन्धान अवधि अस्पतालको डिलक्स रुममै वित्यो । चार पटकसम्म अनुसन्धानको म्याद थप गरेको अदालतले पनि उपचारका लागि अस्पतालमा भर्ना गरेर अनुसन्धान अधिकृत र सरकारी वकिललाई कृष्णबहादुरमाथि त्यहीँबाट घटनाको अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

म्याद थप तथा अदालतमा पेस गर्ने क्रममा उहाँलाई सुनसरी लैजान र त्यहाँबाट फर्काएर विराटनगर ल्याउन पटक–पटक विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्स प्रयोग गरियो ।

अदालतले धरौटीमा छाड्न आदेश दिएपछि आज दिउँसो ४ बजे उनलाई त्यही एम्बुलेन्समा राखेर अस्पताल ल्याइयो । कृष्णबहादुरलाई ल्याइपुर्याउनु अघि नै उनका समर्थक र अनुयायीहरुको अस्पतालमा भीड लागेको थियो । एम्बुलेन्सबाट ओरार्दै गर्दा समर्थनमा भेला भएका महिला तथा पुरुषहरुले सास्टङ्दण्डवत गरेर उहाँलाई प्रणाम गरे ।

त्यसपछि ह्वीलचेयरमा राखेर कृष्णबहादुरलाई ९ नम्बर डिलक्स रुममा लगियो । उहाँको उपचार अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले गरिरहनु भएको छ । डा. गिरीले अझै पनि कृष्णबहादुर खतरामुक्त नरहेको जानकारी दिनुभयो ।

‘‘माइनर हटअट्याक’ सँगै उहाँलाई स्वास्थ्य सम्बन्धी अन्य धेरै समस्या रहेकाले अवस्था खतरापूर्ण छ,’ उहाँले भन्नु भयो, ‘त्यही भएर अझै केही दिन चिकित्सकको निगरानीमै अस्पतालमा राखेर उपचार गराउनु पर्ने हुन्छ ।’ जोखिमबाट बाहिर नभएका कारण लामो समयदेखि निरन्तर उपचार गरिरहनु परेको जानकारी डा. गिरीले दिनु भयो ।

उहाँले लामो समयदेखि उपचाररत कृष्णबहादुरका बारेमा आफूले अदालतमा पनि यही कुरा लेखेर पठाइदिएको उल्लेख गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३