प्रकाशित : ११ पुष २०७६, शुक्रबार १५:०४

विराटनगर, ११ पुस । प्रदेश नंं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अपाङ्गता भएका व्यक्तिहरुलाई निस्कृय नहुन सुझाव दिनुभएको छ । अपाङ्गता भएका व्यक्ति निस्कृय भए राज्यलाई घाटा हुने उहाँको भनाई छ ।

सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल अपाङ्ग महासंघ प्रदेश नं. १ को सहआयोजनामा विराटनगरमा आजदेखि शुरु भएको अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामाग्रीहरुको प्रर्दशनी कार्यक्रमलाई उद्घाटन गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताउनु भएको हो ।

अपाङ्गता भएका व्यक्तिको क्षमतालाई समाजले उपयोग गर्न सक्नु पर्ने प्रदेश प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ उनीहरु भित्र लुकेको क्षमतालाई उजागर गर्नुपर्छ ।’

अपाङ्गता भएकाहरु भित्रबाट पनि ‘रोलमोडल’ खोज्न आवस्यक रहेकोमा प्रदेश प्रमुख अधिकारीले जोड दिनुभयो । उहाँले ‘इको सोसल सिस्टम’लाई सक्षम बनाउन आवस्यक रहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नं. १ का २७ वटा स्थानीय तहमा अपाङ्गता उन्मुलन अभियान शुरु गरिएको बताउनुभयो । करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा शुरु गरिएको अभियान प्रदेशभरिका सवै स्थानीय तहमा पुर्याईने उहाँले बताउनुभयो ।

मन्त्रालयले बौद्धिक अपाङ्गता भएका व्यक्तिको शिक्षाका लागि प्रदेश नं. १ मा छुट्टै विद्यालय स्थापना गर्ने तयारी गरेको मन्त्री घिमिरेले बताउनुभयो । अपाङ्गताको प्रकार अनुसार विभिन्न सीप प्रदान गरि रोजगारीसँग जोड्ने गरि काम भईरहेको उहाँले बताउनुभयो । प्रदेशका १४ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अध्ययन गरिसकीएकाले मन्त्रालयले प्रतिवेदन अनुसार कार्यक्रम तय गरेको मन्त्री घिमिरेले बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले अहिले बनिरहेका संंरचनाहरु अपाङ्गतामैत्री नभएको बताउनुभयो । नेपाल अपाङ्ग महासंघका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिलाई बोझ नठान्न आग्रह गर्नुभयो ।

काम गर्न सक्ने क्षमता र सीप अपाङ्गता भएका व्यक्तिसँग रहेको उहाँले बताउनुभयो । गैरसरकारी संस्था महासंघ प्रदेश १ उपाध्यक्ष सीता शर्मा दाहालले ग्रामिण भेगमा अपाङ्गता भएका व्यक्तिको शिक्षामा अझैपनि समस्या रहेको बताउनुभयो ।

नेपाल अपाङ्ग महासंघ प्रदेश नं. १ अध्यक्ष पार्वता श्रेष्ठले सीप पाएको खण्डमा अपाङ्गता भएका व्यक्तिले काम गरेर देखाउन सक्ने बताउनुभयो । प्रर्दशनीमा गत वर्ष सीप विकास तालिम लिएकाहरु नै रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रर्दशनीमा प्रदेश नं. १ का विभिन्न जिल्लाका अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामाग्रीहरु राखिएको छ ।

प्रर्दशनी भोली सम्म चल्ने नेपाल अपाङ्ग महासंघ प्रदेश नं. १ का कार्यक्रम अधिकृत विमल वस्नेतले बताउनुभयो । प्रदेश नं. १ मा राष्ट्रिय जनगणना २०६८ अनुसार ९४ हजार ६ सय ४० जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३