प्रकाशित : ४ पुष २०७६, शुक्रबार १६:३८


विराटनगर, ४ पुस । बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले विराटनगर लगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।
चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि समस्या परेको छ । सबै भन्दा बढी बालबालिका, वृद्धवृद्धा र महिला तथा किनेर शरीर भरी न्याना कपडा लगाउन नसक्नेहरु प्रभावित बनेका छन् ।
चिसोले सर्वसाधारणको दैनिकीमा निक्कै ठूलो असर परेको छ । चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको विराटनगरस्थित विशाल युथ क्लबका सल्लाहकार वीरु तामाङले बताउनु भयो ।
हुस्सुका कारण भिजिविलिटी कम हुँदा सडकमा सवारी साधनको चाप पनि कम हुँदै गएको उहाँको भनाइ छ । जनजीवत प्रभावित बन्दै गएपछि मोरङमा प्रहरीले आजबाट दाउराको व्यवस्थापन गर्दै आगो ताप्ने व्यवस्था मिलाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरीको सक्रियता र समन्वयमा बिहानैदेखि मोरङका एक सय ८५ स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिनु भयो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दा, संघ संस्था र स्थानीय तहसँग समन्वय गर्दै दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । विभिन्न चौक, सार्वजनिक स्थल, गाउँ र बजारहरुमा बिहानैदेखि आगो बालेर ताप्ने व्यवस्था प्रहरीले मिलाएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चिसोबाट प्रभावित भएकाको सुरक्षाका लागि जिल्ला प्रकोप व्यवस्था समितिको बैठकबाट निर्णय गर्दै चिसोबाट हुने क्षति रोक्न पूर्वतयारीमा जुटिसकेको जानकारी दिनु भयो ।