प्रकाशित : २२ मंसिर २०७६, आईतवार १८:३३

विराटनगर, २२ मंसिर । सुत्केरीको मृत्यु भएको विषयलाई लिएर विराटनगरको नोेवेल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । शल्यक्रियामार्फत प्रसूति गराइएकी २९ वर्षीय जानुका श्रेष्ठको मृत्यु भएपछि आज दिउँसोदेखि अवस्था तनावपूर्ण बनेको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाइएको छ ।

इलामको फिक्कल घर भई मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दै आएकी श्रेष्ठलाई प्रसूति व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना गरिएको थियो । अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेत्रृत्वको चिकित्सक राति १० बजे शल्यक्रिया गरेर प्रसूति गराएको थियो ।

पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेको जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताउनु भयो । ‘शल्यक्रिया गरेपछि चार घण्टासम्म चिकित्सकले कुनै वास्तै गरेनन्,’ उहाँले भन्नु भयो, ‘बिहान २ बजेपछि छोरीको मृत्यु भयो ।’ सुत्केरीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्त हिजो शव अस्पतालमै छाडेर गएका थिए ।

शव बुझ्न अस्वीकार गरेका आफन्तले शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको आरोप लगाएका छन् । बस रिजर्व गएर आज अस्पताल घेराउ गर्न आएका आफन्त र स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरेका छन् ।

नाराजुलुस गर्दै प्रसूति वार्ड तिर हुल बढेपछि त्यसलाई रोक्न खोज्दा मृतक पक्ष र प्रहरीबीच धकेलाधकेल भएको थियो । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेको थियो । अस्पतालमा नाराजुलुस र प्रदर्शन जारी छ । प्रदर्शनमा उत्रिएकाले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनु पर्ने, आगामी दिनमा घटना दोहोरिन नहुने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनु पर्ने माग अघि सारेका छन् ।

माग पूरा नभएसम्म शव अस्पतालमै राख्ने र जिम्मा लिन अस्वीकार गर्ने उनीहरुको अडान छ । आमाको मृत्यु भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

अस्पताल र मृतक पक्षबीच पटक–पटक भएको वार्ता भने बिना निस्कर्ष टुँगिएको छ । वार्तामा मृतक पक्षबाट सहभागी भएका कांग्रेस मोरङका सचिव नागेश कोइरालाले घटनामा ठूलै लापरबाही देखिएको दाबी गर्नु भयो । वार्ताका क्रममा चिकित्सकले सुत्केरीको मृत्यु हुनुको कारण बताएका थिए ।

वार्तामा सहभागी डा. सुवेदी लगायतका चिकित्सकले शल्यक्रिया गरेपछि पाठेघर फुकेर गएको र नखुम्चिएका कारण सुत्केरीको मृत्यु भएको जानकारी दिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताउनु भयो । शल्यक्रिया र उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको दाबी दाहालले गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३