प्रकाशित : २० मंसिर २०७६, शुक्रबार १७:३७

विराटनगर, २० मंसिर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराज विरुद्ध अनुसन्धान अघि बढाउन जिल्ला अदालत सुनसरीले आज पुनः सात दिनको म्याद थप गरेको छ । न्यायाधीश खिमानन्द भुषालको इजलासले अनुसन्धान अघि बढाउन पुनः दोस्रो पटक सात दिनको म्याद थप गरेको हो ।

प्रहरीले उपचाररत विराटनगरको विराट नर्सिङ होमको आईसीयूबाट को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर कृष्णदासजीलाई बिहान ११ बजे म्याद थपका लागि लगेको थियो । मंसिर १६ गते सोमबार उनी विरुद्ध अनुसन्धान गर्न प्रहरीले अदालतबाट पहिलो पटक चार दिनको म्याद पाएको थियो । अस्पतालको आईसीयूमै रहेका उनीसँग प्रहरीले पहिलो पटक थप गरिएको म्यादमा बयान समेत लिन सकेन । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्माले यस अघि बयान लिन पटक–पटक पुगे पनि बिरामी भएको बहानामा कृष्णदासजीले बोल्न नमानेको जानकारी दिनु भयो ।

चिकित्सकले पनि ‘माइनर हटअट्याक’ भनेर कृष्णदासजीसँग दोहोरो गफगाफ नगर्दा राम्रो हुने सुझाव दिएको र कृष्णदासजीले पनि बोल्न नमानेपछि बलात्कार आरोपमा अनुसन्धान अघि बढाउन बयान लिन नसकिएको उहाँको भनाइ छ । बयाननै नलिइकन पहिलो म्याद गुज्रिएपछि प्रहरीले दोस्रो पटक म्याद थप गरेको हो । सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले कृष्णदासजी विरुद्ध प्रहरीमा जाहेरी दिइकी छन् ।

प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला छात्ती, मुुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै मंसिर १२ गते बिहीबारदेखि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । दोस्रो पटक पनि म्याद थप गर्दै अदालतले कृष्णदासजीलाई अस्पतालमा राखेर उपचारसँगै अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

अनुसन्धान अधिकृत र सरकारी वकिललाई अस्पतालमै गएर उनीसँग बयान लिन पनि आदेश अदालतले दिएको छ । आदेशपछि प्रहरी निगरानीमा राखेर उनलाई विराट नर्सिङ होमको आईसीयूमै भर्ना गरिएको छ । डीएसपी शर्माले भोलिदेखि अस्पतालको आईसीयूबाटै कृष्णदासजीसँग बयान लिन थालिने बताउनु भयो ।

दोस्रो पटकको समय पनि अपुग भए तेस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान टुँग्याइने शर्माको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३