प्रकाशित : १४ मंसिर २०७६, शनिबार १७:२१

विराटनगर, १४ मंसिर । विराटनगरको बालसुधार गृहबाट हामफालेर पाँच दिन अघि भागेका दुई बालक पक्राउ परेका छन् । एक जनालाई मोरङको गोठगाउँबाट शुक्रबार राती र एक जनालाई झापाको बिर्तामोडबाट आज बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

दुवै जनालाई पक्राउ गर्नका लागि प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली र एसपी अधिकारीले विशेष टोली परिचालन गर्नु भएको थियो । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका दुवै बालसुधार गृहको तेस्रो तलाको झ्याल फुटाएर गत सोमबार बिहान फरार भएका थिए । २४ घण्टा नै प्रहरीको सुरक्षा हुने गृहको तेस्रो तलाको झ्यालको ग्रील निकाल्दै पछाडिबाट हामफालेर उनीहरु फरार भएको एसपी अधिकारीले बताउनु भयो ।

उनीहरुलाई आफ्नै गाउँमा पुगेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको उहाँको भनाइ छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का १७ वर्षीय बालक जवरजस्ती करणी मुद्धामा र झापाको गौरादह नगरपालिका–१ का १६ वर्षीय बालक ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत मोरङको आदेशले गत असार र साउनबाट पुर्पक्षका लागि थुनामा थिए । गृहबाट बालक फरार भएको घटनाको छानबिन गर्न मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुको नेत्रृत्वमा छानबिन समिति बनाइएको थियो ।

फरार भएका दुवै बालक पक्राउ परेपछि छानबिनको दायरालाई थप फराकिलो बनाइएको एसपी अधिकारीले बताउनु भयो । उहाँकाअनुसार फरार भएका बालकहरु पक्राउ परिसकेकाले भाग्नुको कारण र घटनाको सबै वास्तविकता बाहिर ल्याउने गरी छानबिन गरिने छ । थुनामा रहेको अवस्थामा सुधार गृहबाट भागेकाले फरार भएका दुवै जनालाई कानुन बमोजिम थप कारबाही अघि बढाएर बालसुधार गृहकै जिम्मा लगाइने एसपी अधिकारीको भनाइ छ ।

यो घटनामा संलग्नता तथा कमजोरी रहेको पाइएमा ड्युटीमा रहेका प्रहरीमाथि पनि कारबाही गरिने उहाँले बताउनु भयो । बालकहरु फरार भएका बेला गृहको सुरक्षाका लागि असइ (प्रहरी सहायक निरीक्षक) टीका राईको नेत्रृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

५० जना क्षमताको बालसुधार गृहमा अहिले एक सय ४८ जना बालकहरु छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३