प्रकाशित : १२ मंसिर २०७६, बिहीबार १७:३७

विराटनगर, १२ मंसिर । आफन्तसँग नै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुग्ध विकास संस्थान (डीडीसी) का पूर्व अध्यक्ष विष्णुप्रसाद मैनालीमाथि मोरङ प्रहरीले अनुसन्धान थालेको छ ।

व्यवसायी तथा इँटा भट्टाका मालिक समेत रहेका विराटनगरका मैनालीमाथि आफ्नै जेठी सासू ५७ वर्षीय सावित्रा बजगाईलाई खाली चेकमा हस्ताक्षर गर्न लगाउँदै झुक्याएर बैंकबाट पैसा निकाल्दै खाइमासी सकेर ठगी गरेको आरोप छ । उहाँ सावित्राका सहोदर बहिनीज्वाई हो । सावित्राका छोराहरु विराटनगर–५ का प्रकाश र विकास बजगाईले सानो बुवाका विरुद्ध दिएको जाहेरी दर्ता गर्दै त्यसकै आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

विकास र प्रकाशले सानोबुवा विष्णुप्रसाद मैनाली, सानीआमा गीता मैनाली र सानोबुवाले सञ्चालन गरेको इँटा उद्योगका कर्मचारी प्रकाश तिम्सिना विरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत मोरङले गत आइतबार तीनै जनालाई पक्राउका लागि अनुमति दिएपछि प्रहरीलाई अनुसन्धानका लागि थप सजिलो भएको छ । यद्यपी मैनालीलाई प्रहरीले अहिलेसम्म पक्राउ भने गरेको छैन । प्रहरीकाअनुसार मैनालीलाई मोरङको कटहरीमा रहेको राजश्यामा इँटा उद्योगका सञ्चालक र इटालियन ब्राण्डको पिरेली टायरका आयातकर्ताका रुपमा चिनिन्छ ।

इँटा उद्योगमा रहेको शेयर फिर्ता लिने क्रममा आफूहरु ठगिएको प्रकाशको भनाइ छ । आफूहरुले पाउने शेयर वापतको १५ लाख रुपैयाँ आमा सावित्राको नाममा रहेको मेघा बैंकको खातामा राखेको र पछि सानोबुवाले केही नजान्ने तथा बाहिरी वातावरणलाई राम्ररी बुझ्न नसक्ने आमालाई झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाउँदै निकालेर लगेको प्रकाशको भनाइ छ ।

२०७६ भदौ ३ गते बैंकमा पैसा निकाल्न जाने क्रममा आमाको नाममा रहेको खाता खाली रहेको र उक्त पैसा सानोबुवा विष्णुप्रसाद मैनालीले निकालेर लगिसकेको खुलेको उहाँले बताउनु भयो । बल्लबल्ल जाहेरी दर्ता गरेको प्रहरीले अदालतले अनुमति दिइसक्दा पनि पक्राउ गरेर कारबाही भने अघि नबढाएको उहाँको गुनासो छ । विकासले अदालतले पक्राउ अनुमति दिए पनि प्रहरीकै संरक्षणका कारण ठगी गर्ने व्यक्ति खुलेआम हिँड्डुल गर्न पाउनुले कानुनी राज्यको उपहास भएको गुनासो गर्नु भयो ।

ठगी आरोप लागेका मैनालीले भने आफूले कोही कसैलाई ठगी नगरेको र अदालतले पक्राउ अनुमति दिएको तथा प्रहरीले अनुसन्धान थालेको विषयमा कुनै जानकारी नभएको बताउनु भयो ।

मैनाली विक्रम संवत २०५६ देखि २०५८ सालसम्म डीडीसीका अध्यक्ष हुनु हुन्थ्यो । प्रहरीका उच्च अधिकारीहरुसँग निकट र पारिवारिक नातासम्बन्ध रहेकै कारण प्रहरीले पनि मैनालीलाई पक्राउ गर्न नसकेको जिकिर विकास र प्रकाशको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मैनालीका विरुद्द जाहेरी दर्ता गरेर ठगी मुद्दामा अनुसन्धान अघि बढाउन अदालतबाट पक्राउ अनुमति लिइसकिएको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३