प्रकाशित : १० मंसिर २०७६, मंगलवार १७:४७

विराटनगर, १० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा सत्तारुढ दल नेकपाले भारतविरुद्ध कुनै कुरा गर्न नसकेको आरोप लगाउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै देउवाले तीनवटै क्षेत्र भारतले नक्सामा राखिरहँदा समेत ओली सरकार समेत भारतविरुद्ध बोल्न नसकेको बताउनु भयो । राष्ट्रिय मुद्धामा सबै राजनीतिक दल एक स्थानमा उभिएर सरकारलाई साथ दिँदा समेत अहिलेको सरकारले भारतसँग यसविषयमा केही गर्न नसकेको बुझाई सभापति देउवाको थियो ।

कालापानी तथा सुस्ता जस्तो विवादास्पद क्षेत्रमा समेतमा कश्मिर जस्तो घटनाक्रम दोहराउने भूमिकामा भारत देखिएको बताउँदै सभापति देउवाले वर्तमान सरकारले यसविषयमा केहीपनि गर्न नसकेको दाबी गर्नु भयो । उहाँले दलहरुबीच भएको अभूतपूर्व एकताको अवस्थामा समेत ओली सरकारले काम गर्न नसकेको बताउनु भयो । सर्वदलीय बैठकमा समेत सरकारलाई अघि बढ्न सुझाव दिए पनि सरकारले केही गर्न नसकेको उहाँको भनाइ छ ।

महाकाली सन्धी आफ्नै कार्यकालमा भएको बताउँदै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकाली नदी पूर्वतर्फ पर्ने र भारतको क्षेत्र नदी पश्चिममा भएको उल्लेख गर्नु भयो ।

सो सन्धीमा नदीको पानी आधा आधा हुने सम्झौता भएको बताउँदै देउवाले महाकाली नदी छिचोलेर भारतले नक्सामा ती तीन क्षेत्र राखेको प्रस्ट पार्नु भयो । सरकारले ल्याउन लागेका अध्ययादेशका विषयमा उहाँले भन्नु भयो ‘सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउने खेलमा लागेको छ ।

यसप्रकारका अध्यायादेश, आयोगको पक्षमा नेपाली कांग्रेस उभिदैन । त्यसको विरोध गरिरहनेछ ।’ मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको बताउँदै देउवाले कम्यनिष्ट सरकारले सत्ता चलाउँदै गर्दा अहिलेसम्म केही नगरेको आरोप लगाउनु भयो ।

कर्मचारीको तलब र भ्रष्टाचार बढाउने बाहेक काम सरकारले नगरेको उहाँको भनाइ छ । देउवा चुनावी आमसभालाई सम्बोधन गर्न धरानतर्फ लाग्नु भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३